एन आर एन ए

दक्षिण कोरियाका लागि नेपाली राजदूत तुम्बाहाङ्फे सबैको साझा बन्न नसकेको आरोप (विज्ञप्तिसहित)


Logo
Prawash Tv
१७ फागुन, २०८१
दक्षिण कोरियाका लागि नेपाली राजदूत तुम्बाहाङ्फे सबैको साझा बन्न नसकेको आरोप (विज्ञप्तिसहित)

विपिन कुमार गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) दक्षिण कोरियाले नेपाली राजदूत शिवमाया तुम्बाहाङ्फे सबैको साझा हुन नसकेको आरोप लगाएको छ । 

गुरुङ र महासचिव प्रशान्त राज बानियाँले जारी गरेको विज्ञप्तिमा आफूहरुले गरेको कार्यक्रममा राजदूत अनुपस्थित हुने र अर्को पक्षको कार्यक्रममा चाहिँ सहभागी भएर विभेद गर्ने काम भएको उल्लेख छ। 

केही समयअघि गुरुङ नेतृत्वको एनआरएनएले दक्षिण कोरियाले ‘बुद्ध वाज बर्न इन नेपाल’ कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा राजदूत शिवमायालाई बोलाइएपनि उनी आउने भनेर अन्तिम समयमा गएकी थिइनन् । 

बुद्ध वाज बर्न इन नेपाल जस्तो ऐतिहासिक अर्थ बोकेको कार्यक्रममा देशको प्रतिनिधित्व गर्ने राजदूत उपस्थित नहुँदा हामीलाई निकै दुखित तुल्याएको थियो । किनकि एनआरएनए नेपालदेखि विभाजनमा भएकोले उहाँ उपस्थित नहुनु भएको सामान्य लियौँ । तर त्यसको केही समय नहुँदै उहाँ अर्को धारको एनआरएनएको कार्यक्रममा उपस्थित भएर अन्तरक्रिया गर्ने समाचार पढ्न पायौँ, जुन दुःखद र पूर्वाग्रही भएको ठहर गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । 

एनआरएनएको विवादको असरले दक्षिण कोरियामा समेत दुई एनआरएनए भएकोमा एक पक्षलाई मात्रै साथ दिएर आफूहरूलाई बेवास्ता गरेको गुरुङ पक्षीय एनआरएनएको भनाइ छ । 

जबकि सर्वोच्च अदालतको परमादेशले शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन आगामी मार्चमा हुन लागेको विज्ञप्तिमा उल्लेख छ । सोही समितिले प्रत्येक देशका राष्ट्रिय समन्वय परिषदहरुलाई परिपत्र गरेर समान हैसियत र अधिकार प्रदान गरी एकता अधिवेशन गर्न अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै संरक्षक शेष घले र तत्कालीन अध्यक्ष विनोद कुँवर पक्षले समाएको विधि, विधान अनुसार केन्द्रका अध्यक्ष उपस्थितिमा दक्षिण कोरियामा एनआरएनए कमिटी गठन भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राजदूतावास र राजदूत जस्तो महामहिम र बौद्धिक व्यक्तित्वले अदालतको परमादेशलाई पनि रद्दीको टोकरीमा मिल्काउनु भएको हामीलाई र यो विभेदलाई केलाउनेलाई सहजै अनुमान हुनेमा दक्षिण कोरिया विनोद कुँवर पक्षीय एनआरएनको ठहर रहेको छ। राजदूत कोरियाको लागि सबैको अभिभावक भई यस विवादलाई मिलाएर लैजाने, सबै पक्षलाई एक ठाउँमा राखेर एकता र सहकार्यका लागि सशक्त आह्वान गर्नुपर्ने हाम्रो आशालाई उहाँको पक्षपातको सिलसिलाले हामीलाई अझ मर्माहत तुल्याएको छ।’

राजदूतले एक पक्षलाई मात्र प्रमोट गरिरहे उनको यो शैलीको विरोध र  बहिष्कार हुने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ । ‘उहाँका यस्ता पूर्वाग्रही र एक पक्षलाई मात्र प्रमोट गर्ने प्रवृत्ति, कोरियामा रहेको एनआरएनए पक्षधर र सम्पूर्ण नेपाली समुदायलाई विभाजित तथा छिन्नभिन्न पार्ने गतिविधि भएको हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘महामहिमज्युका यस्ता प्रवृत्ति, पूर्वाग्रही र एक पक्षलाई पोस्ने शैलीलाई हाम्रो विरोध र बहिस्कार रहने चेतावनी दिन चाहन्छौँ ।'



सम्बन्धित खबर

सम्पर्क

Chabahil Chowk Kathmandu , Kathmandu, Nepal

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ९१७/३७-४७०

Editor-in-Chief: Basanta Nepal

Chairman:

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka