वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा खत्री प्यानलको एकछत्र सफलता
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री निर्वाचित भएका छन्। नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाली कम्युनिस्ट पार्टी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेस निकट केही व्यवसायीहरूको संयुक्त समूहबाट उम्मेदवारी दिएका खत्री प्यानलसहित विजयी भएका हुन्।
निर्वाचनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका तर्फबाट उम्मेदवार बनेका संघका पूर्वमहासचिव मेघनाथ भुर्तेल तथा राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहका उम्मेदवार, संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीलाई पराजित गर्दै खत्री अध्यक्षमा निर्वाचित भए।
अध्यक्ष पदमा खत्रीले ३४७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी भुर्तेलले १९२ र पाण्डे क्षेत्रीले १७० मत पाए।
त्यसैगरी प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत), द्वितीय उपाध्यक्षमा अनिल बोगटी (३१५ मत), तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल (२५९ मत), महासचिवमा हरि डाँगी (२७३ मत), सचिवमा केदारनाथ अधिकारी (२९४ मत) तथा कोषाध्यक्षमा धनमाया सिन्जाली (३२३ मत) निर्वाचित भएका छन्।
१७ सदस्यीय कार्यसमितिको निर्वाचनमा प्रगतिशील प्यानलले उल्लेखनीय सफलता हासिल गर्दै ७ पदाधिकारीमध्ये ६ पद तथा १० कार्यसमिति सदस्यमध्ये ८ सदस्यमा विजय हासिल गरेको छ। लोकतान्त्रिक एसोसिएसन प्यानलबाट तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल तथा सदस्यहरू गीता राउत र दीक्षा दाहाल निर्वाचित भएका छन्।