समाचार

मलेसियाबाट छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा


Logo
Prawash Tv
२९ माघ, २०८१
मलेसियाबाट छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उनी बेचैन छिन् ।

श्रीमान्सँग सम्बन्धविच्छेदपछि आफ्नो ६ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालुम्म न शव आएको छ, न त राहत रकम नै । लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरीमा बेचैनी थप बढेको छ । छोरीको शव ल्याउन आमा धनमाया १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइरहेकी छिन् ।

शव झिकाउन सबै कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । तिलमायाको हत्या भएको खबरलगत्तै सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको तिलमायाकी दिदी नीलमाया सार्कीले बताइन् ।

वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिला भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले बताए ।

सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्क अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट वैदेशिक रोजगारीमा गएका मध्ये चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ जनाको मृत्यु भएको छ । यो अवधिमा मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल आउन बाँकी छ



सम्बन्धित खबर

सम्पर्क

Chabahil Chowk Kathmandu , Kathmandu, Nepal

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ९१७/३७-४७०

Editor-in-Chief: Basanta Nepal

Chairman:

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka