समाचार

बेलायतमा गाउँ सम्झिँदै आमाहरू


Logo
Prawash Tv
१४ वैशाख, २०८२
बेलायतमा गाउँ सम्झिँदै आमाहरू

गोरखा सिरानचोक घर भएकी सकुन्धरा गुरुङ ९२ वर्ष पुगिन् । लमजुङको बन्सार माइती भएकी उनी बेलायत आएको १८ वर्ष भइसक्यो । बेलायतको फार्नबोरो बस्ने उनले गाउँ नआएको वर्षौं भयो । हरेक मंगलबार मध्यान्ह १२ बजेतिर रश्मूर बोरोको अल्डरसटस्थित एम्पायर हलमा आउँछिन् ।

सबैलाई नमस्कार गर्दै कुर्सीमा बसेर लामो सास फेर्छिन् । बजिरहेको गीतमा उठेर नाच्न थाल्छिन् । स्पीकरबाट गुरुङ भाषाको गीत ‘रिँमै थुमै प्रे तन रोधींरी।।।’ अर्थात् ‘केटी साथीहरू, सँगै होऔँ रोधींमा।।।’ बजिरहेको हुन्छ । संयोगले गीतका रचनाकार एकेन्द्र गुरुङ बेलायतमै बस्छन् । नेपालका गाउँघरमा बज्ने यो सदाबहार गीत अहिले बेलायतमा रहेका आमाहरूलाई गाउँ सम्झाउने गीत बनेको छ ।

सकुन्धरा भन्छिन्, ‘छोराबुहारी, नातिनातिना गरेर १२ जना यहीँ छौँ । गाउँ सम्झिन्छु । उमेर गैगो । अब फर्केर आउँदैन ।’

लमजुङको नाल्मा माइती भई हिलेटक्सार घर बताउने ८३ वर्षीया उद्बिनी गुरुङ बेलायत आएको ११ वर्ष भइसक्यो । छोरीज्वाइँसँग बस्दै आएकी उनलाई गाउँघरको निकै याद आउँछ । ‘जाऊँ भने जान सकिँदैन, उमेर छैन । घरमा बसेर पकाउँदै, खाँदै, सुत्ने मात्र भयो,’ उनले भनिन् । उनका अनुसार सबै दिदीबहिनी भेला भएर बोल्ने, गीत गाउने, ज्यानलाई सन्चो बनाउन नाच्ने गरिन्छ ।

पर्वतको आर्थर डाँडाखर्ककी ८० वर्षीया जगतकुमारी गुरुङ कहिले मंगलबार आउला र सबैजना भेला भएर नाचगान गरौँ झैँ लाग्ने बताउँछिन् । ‘गाउँमा खेतीपाती गरिन्थ्यो । त्यसपछि मधेश झरियो । फेरि काठमाडौंमा छोराहरूले घर बनाए । अहिले युके आइयो,’ उनले भनिन्, ‘घरमा बस्ने, बिहान एकपल्ट पार्क घुम्ने । मंगलबार आमा पाटी जम्मा हुँदा नाचगान रमाइलो हुन्छ ।’

ओखलढुंगाको लिखुदेम्बा घर भएकी ७६ वर्षीया सुशीला देवी सुनुवार सन् २०१२ मा बेलायत आएकी हुन् । श्रीमान्‌को निधनपछि सरकारले दिने सेवा उपभोग गर्न आएकी उनी गाउँमा घाँसदाउरा र मेलापात गरेको अहिल्यैझैँ लाग्छ । ‘छोरीहरू छन् । राति त सुतिन्छ । दिनभर कहाँ जाने रु साथीहरू भेट्ने, चिनजान गर्ने, गाउँ सम्झन नपरोस् भनेर नाचगान गरेका छौँ,’ उनले भनिन् ।

सकुन्धरा, उद्बिनी, जगतकुमारी, सुशीला देवी मात्र होइनन्, अल्डरसटको एम्पायर हलमा स्याङ्जा ज्याग्दीखोलाकी ७७ वर्षीया शिवा शाही, लमजुङ बेंसीसहरकी ७४ वर्षीया चिनीमाया गुरुङलगायत रश्मूर बोरो, फार्नबोरो, क्याम्बर्ली क्षेत्रका करिब २ सय जना हरेक मंगलबार भेला हुन्छन् ।

बेलायतमा ६८ वर्ष माथिकालाई सार्वजनिक सवारीमा पाइने निःशुल्क सेवाले उनीहरूको आवतजावत सहज बनाएको छ । नाचगानदेखि बससम्म ल्याउन लैजान तथा खानपानको व्यवस्थापनका लागि गोर्खा आमा समूहका अध्यक्ष धनमाया गुरुङ, उपाध्यक्ष जमुना गुरुङ, सचिव यनकुमारी गुरुङलगायत खटिएका हुन्छन् ।

बेलायतमा वृद्धवृद्धालाई सेवा–सुविधा दिलाउन सहयोग गर्दै आएकी ६६ वर्षीया शोभा गुरुङका अनुसार सन् २०१० मा उनी आउँदा सरकारी भत्ता लिने वृद्धवृद्धा थोरै थिए । ‘सुरुमा आउँदा अन्यौल थियो । कोहीकोही गाउँ फर्किन पाए हुन्थ्यो भन्ने हुन्थे । हामीले बेनिफिटका लागि आवेदन दिनेदेखि अरु काममा धेरैलाई सहयोग गर्‍यौँ,’ उनले भनिन् ।

गोर्खा आमा समूहकी अध्यक्ष ७३ वर्षीया धनमाया गुरुङका अनुसार एम्पायर हलमा रश्मूर बोरोको अल्डरसट र फार्नबोरो क्षेत्रका धेरै आमा आउँछन् । केही क्याम्बर्लीबाट पनि आउँछन् । सन् २००९ मा बेलायत आएकी उनी फार्नबोरोमा बस्छिन् । ‘छोराछोरी छाडेर आएका आमालाई दिन काट्न गाह्रो हुन्छ । मान्छे यहाँ भए पनि आमाको मन आफ्नै गाउँ, आफ्नै छोराछोरी, आफ्नै देशमै हुन्छ,’ उनले भनिन्, ‘आमा समूह बनाउने, पाका आमालाई भेला गर्ने, नाचगान गर्ने योजना सुरु भयो । हामी १० वर्षदेखि नाचगानको कार्यक्रम गर्दै आएका छौँ ।’

उनका अनुसार सुरुमा सदस्यहरूले पैसा उठाएर हलको भाडा तिर्थे । अहिले विवाह, ब्रतबन्धलगायत कार्यक्रममा नाचगान गरेर रकम संकलन गरिन्छ । तिहारमा देउसीभैलो खेलेर वर्षेनि १६–१७ हजार पाउन्ड संकलन गरिँदै आएको उनले बताइन् । ‘हरेक मंगलबार नाचगान गरिन्छ । वर्षमा १ पटक घुमाइन्छ । पुस १५, ल्होसार र तीजमा निःशुल्क खाना खुवाइन्छ । दिनदिनै चिया–बिस्कुट खुवाइन्छ,’ उनले भनिन् । उनका अनुसार पछिल्लो समय वार्षिक १ हजार २ सय ५० पाउन्ड हल भाडा तिर्इँदै आएको छ । कोरोना महामारीका बेला बन्द भएको जमघन फेरि सुरु भएको छ । ‘गाउँमा खेती किसानी गरिन्थ्यो । गाउँकै सेवा गरिन्थ्यो । यहाँ आएर दिदीबहिनीको सेवा गर्न पाएको छु,’ उनले भनिन् ।

यहाँका नेपालीका अनुसार स्थायी रूपमा नेपालीहरू बेलायत बस्न थालेको सन् १९७० को दशकबाट हो । नेपालमा वि।सं। २०४६ को प्रजातन्त्रपछि सर्वसाधारणले राहदानी पाउन थालेपछि विदेश जान सजिलो भयो । सन् १९९७ पछि अवकाश पाएका गोर्खा सैनिक र उनका परिवारले २००४ मा बेलायतमा बसोबासको अधिकार पाए । सन् २००९ मा बेलायती सेनामा कम्तीमा ४ वर्ष सेवा गरेका गोर्खा सैनिक र उनका परिवारले आवासीय अधिकार जिते । त्यही समय बेलायत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीप्रति उदार नीति लिएपछि निम्न र मध्यम वर्गका नेपाली परिवारका सदस्यलाई अध्ययन गर्न बेलायत जाने अवसर मिल्यो ।

ग्रेटर रश्मूर नेपाली समाज युकेका अध्यक्ष मान गुरुङका अनुसार एम्पायर हलमा नाचगान गर्न आउने धेरैजना अल्डरसट र फार्नबोरोका हुन् । केही क्याम्बर्लीबाट आउँछन् । रश्मूर बोरो काउन्सिलभित्रमात्र यहाँको राष्ट्रिय परिचयपत्र लिएका नेपाली १० हजारभन्दा बढी छन् । करिब ४ हजार जेष्ठ नागरिक छन् । ‘उहाँहरू ठाउँ–ठाउँबाट आउनुहुन्छ । एकआपसमा रमाउनुहुन्छ । दुःख–सुखका कुरा, गाउँघरका कुरा गर्नुहुन्छ,’ उनले भने ।

रश्मूर बोरो काउन्सिलकी मेयर काउन्सिलर मारा मकुनाराले नेपालीहरू निकै बहादुर र मिलनसार रहेको बताइन् । ग्रेटर रश्मूर नेपाली समाज युकेको कार्यक्रममा उनले नेपालीहरू यहाँका नागरिकसरह सेवा–सुविधा पाउँदै आएको र नेपाली समुदाय गर्व गर्न लायक भएको बताइन् ।

Sources: www.ekantipur.com



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka