नर्वेमा माछाका भुरा अनुसन्धान गर्ने डाक्टर
नर्वेको प्रयोगशालामा माछाको आनुवंशिक सुधार सम्बन्धी अनुसन्धान गरिरहेका नेपाली हुन् डाक्टर राजेश जोशी।
सन् २०१५ मा नर्वे पुगेका उनी पछिल्ला आठ वर्षदेखि जेनोमार जेनेटिक्स कम्पनीमा वरिष्ठ अनुसन्धानकर्ताका रूपमा कार्यरत छन्।
यो आनुवंशिक सुधार र प्रजनन सम्बन्धी अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो। विशेषगरी दिगो जलकृषि (सस्टेनेबल एक्वाकल्चर) का लागि व्यावहारिक आनुवंशिक समाधान विकास गर्ने यसको मुख्य काम हो।
'म माछाको आनुवंशिक गुणस्तर सुधार (जेनेटिक इम्प्रुभमेन्ट) सम्बन्धी अनुसन्धान गर्छु,' उनले भने।
राजेश अनुसन्धान तथा नवप्रवर्तन (आर एन्ड डी) विभागमा कार्यरत छन्। सो विभागमा काम गर्ने तीन जनाको समूह छ। तीमध्ये दुई जना नर्वेली नागरिक हुन्।
कम्पनीमा काम गर्ने वातावरण निकै सहज र सहयोगी छ। अन्तर्राष्ट्रिय टोलीसँग मिलेर अनुसन्धान गर्न पाउनु आफ्ना लागि राम्रो अनुभव भएको उनी बताउँछन्।
यसबाहेक उनी भिजिटिङ प्रोफेसरका रूपमा पनि विभिन्न विश्वविद्यालयसँग आबद्ध छन्। यस भूमिकामा उनले अध्यापन गर्नुका साथै अनुसन्धानमा सहकार्य गर्छन्।
'यो मेरो पार्टटाइम काम हो। यसले कम्पनीको काममा कुनै असर पर्दैन। बरू पहुँच बढाउन सहयोग पुग्छ,' उनले भने।
यही जिम्मेवारी क्रममा उनी हरेक वर्ष विभिन्न देश पुग्छन्। फिलिपिन्स, ब्राजिल, क्यानडा, अमेरिका, सिंगापुर र भियतनाम लगायत देश पुगेर अध्यापन तथा अनुसन्धान पनि गरिरहेका छन्।
राजेशको जन्म दार्चुलामा भएको हो। बुबा सरकारी जागिरे र आमा गृहिणी थिए। सानैमा आमाबुबासँगै काठमाडौं आए। उनकी एक बहिनी छिन्।
पुरानो बानेश्वरस्थित इन्द्रधनुष माध्यमिक विद्यालयबाट २०५८ सालमा एसएलसी (एसइई सरह) प्रथम श्रेणीमा उत्तीर्ण गरे।
एसएलसीपछि छात्रवृत्तिमा पुरानो बानेश्वरकै न्यू समिट कलेजमा जीवविज्ञान विषय पढे। पढ्दै कमाइहाल्नुपर्ने बाध्यता थिएन। गठ्ठाघरको एक कलेजबाट छात्रवृत्तिमै पाँचवर्षे भेटेरिनरी विज्ञान पनि पढिसके।
स्नातकपछि उनले दुई वर्ष एक औषधि उत्पादन गर्ने कम्पनीमा प्रडक्ट म्यानेजरका रूपमा काम गरे।
'किसान तथा मार्केट प्रतिनिधिलाई तालिम दिनुपर्थ्यो,' राजेशले भने।
राजेशले पहिल्यैदेखि उच्च शिक्षाका लागि विदेश जाने योजना बुनेका थिए। बुबाले पनि रूसबाट विद्यावारिधि (पिएचडी) गरेकाले विदेशबाट केही सिकेर फर्किनुपर्छ भन्ने सोच परिवारको थियो।
छात्रवृत्ति पाएपछि उनी स्नातकोत्तर पढ्न नेदरल्यान्ड्स गए।
इरास्मस मुन्डस छात्रवृत्ति अन्तर्गत उनी नेदरल्यान्ड्सको वागेनिङ्गेन युनिभर्सिटी एन्ड रिसर्च र अस्ट्रियाको बोकु युनिभर्सिटी अफ नेचुरल रिसोर्सेज एन्ड लाइफ साइन्सेसमा पढे।
राजेशका अनुसार इरास्मस अन्तर्गतको युरोपियन मास्टर्स इन एनिमल ब्रिडिङ एन्ड जेनेटिक्स कार्यक्रम युरोपका साझेदार विश्वविद्यालयहरूले संयुक्त रूपमा सञ्चालन गर्छन्। यस कार्यक्रममा विद्यार्थीले कम्तीमा दुई फरक युरोपेली देशका साझेदार विश्वविद्यालयमा पढ्नुपर्छ।
'पढाइसँगै खाने र बस्ने खर्च बेहोरेकाले म पढाइमै केन्द्रित भएँ,' उनले भने।
स्नातकोत्तरपछि उनले अनुसन्धानलाई नै आफ्नो करिअर बनाउने निर्णय गरे। सन् २०१५ मा नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेस (एनएमबियू) मा पिएचडी गर्ने अवसर पाए।
राजेशको पिएचडी अनुसन्धान नाइल टिलापिया माछाको प्रजनन र आनुवंशिकीमा केन्द्रित थियो। यही अनुसन्धानले जलकृषि आनुवंशिकी (एक्वाकल्चर जेनेटिक्स) लाई उनको मुख्य विशेषज्ञताको क्षेत्र बनायो। त्यसपछि उनलाई विभिन्न कम्पनीबाट काम गर्ने प्रस्ताव आयो।
'अध्ययन सकिने बित्तिकै मलाई अहिले काम गरिरहेको कम्पनीबाट कामको प्रस्ताव आयो,' उनले भने।
यो कम्पनीले पाँच वटा देशमा माछाको भुरा बेच्छ।
अनुसन्धान तथा विकास क्षेत्रमा मुख्य चुनौती भनेको किसानका लागि उपयोगी हुने नयाँ जातका माछाका भुरा विकास गर्नु हो। त्यसका लागि निरन्तर अनुसन्धान र परीक्षण आवश्यक पर्ने उनले बताए।
राजेश कम्पनीमा आबद्ध भएपछि तीन नयाँ जातका माछाका भुरा विकास भएका छन्। तीमध्ये दुई जात एसियाका लागि र एउटा ल्याटिन अमेरिकी बजारका लागि विकास गरिएको हो। नयाँ जात पनि विकास गरिरहेको उनले बताए।
अहिले उनी नर्वेमा परिवारसहित बसिरहेका छन्। व्यस्त कार्यतालिकाका बीच दुई–तीन वर्षको अन्तरालमा नेपाल आउँछन्।
'आगामी दिनमा पनि आफूले काम गरिरहेको अनुसन्धानकै क्षेत्रमा अझै अघि बढ्ने योजना छ,' राजेशले भने।
source - setopati