साउदीबाट अलपत्र ११ नेपाली श्रमिकको उद्धार
साउदीबाट अलपत्र ११ नेपाली श्रमिकको उद्धार
साउदी अरबको यान्बु सहरमा अलपत्र परेका ११ जना नेपाली श्रमिकमध्ये १० जना सोमबार स्वदेश फर्किएका छन् भने एक जना स्थानीय कम्पनीमा ट्रान्सफर भएर बसेका छन्।
नेपाली दूतावास रियाद र महावाणिज्य दूतावास जेद्दाको पहलमा कम्पनीले उनीहरूलाई बहिर्गमन भिसा र टिकट उपलब्ध गराएको हो। पाँच महिनादेखि तलब र काम नपाएका श्रमिकहरूले नेपाली सेवा समितिसँग सम्पर्क गरेपछि विभिन्न सञ्चारमाध्यममार्फत दबाब सिर्जना भई उद्धार सम्भव भएको हो।
पीडितहरूले करिब ५९ हजार साउदी रियाल (२२ लाख रुपैयाँ) तलब नपाएको गुनासो गरेका छन्। कम्पनीले तलब नदिएर टिकट मात्र उपलब्ध गराएको उनीहरूको आरोप छ।
गत वर्ष अल फराज इन्टरनेसनल ओभरसिजमार्फत साउदीको एलाइट सपोर्टिङ कम्पनीमा पुगेका उनीहरूको इकामा नवीकरण नगरिएको, तलब रोकिने र आधारभूत सुविधा अभाव हुँदा अवस्था दयनीय बनेको थियो।
नेपाली सेवा समितिले ३७ दिनसम्म खाद्यान्न, सरसफाइ सामग्री र नगद सहयोग उपलब्ध गराई संरक्षण गरेको पीडितहरूले बताएका छन्।