समाचार

दक्षिण कोरियाको K-pop प्रतियोगितामा नेपाली विद्यार्थीलाई सफलता, NCB ले हासिल गर्‍यो दोस्रो स्थान


Logo
Prawash Tv
२६ असोज, २०८३
दक्षिण कोरियाको K-pop प्रतियोगितामा नेपाली विद्यार्थीलाई सफलता, NCB ले हासिल गर्‍यो दोस्रो स्थान

बुसान, दक्षिण कोरिया | १२ अक्टोबर २० |

दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरूको संस्था नेपालिज कम्युनिटी इन बुसान (NCB) ले १५औँ दा-ओउलिम महोत्सव २०२६ मा उल्लेखनीय सफलता हासिल गरेको छ। अक्टोबर ११ मा आयोजित महोत्सवमा आठ देशका सहभागीबीच भएको कोरियन K-pop नृत्य तथा गायन प्रतियोगितामा NCB का प्रतिनिधिले दोस्रो स्थान हासिल गरेका हुन्।

डोङ-ई विश्वविद्यालयमा अध्ययनरत प्रिन्स लामा र क्युङसुङ विश्वविद्यालयकी जेनी मुनले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै दक्षिण कोरियामा नेपाली विद्यार्थीको प्रतिभा प्रस्तुत गरेका छन्। उनीहरूको सफलताले नेपाली विद्यार्थीहरू अध्ययनसँगै कला, संगीत र सांस्कृतिक गतिविधिमा पनि सक्रिय रहेको देखाएको छ।

महोत्सवमा NCB नेपाल डान्स क्रुले नेपाली संस्कृति र परम्परा झल्काउने सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेको थियो। उक्त प्रस्तुतिमा रोजिना लामा, तेन्जिङ ह्योल्मो, रमेश मगर, अजेन्स शेर्पा र आकाश सुयाल सहभागी थिए। त्यस्तै, सीमा श्रेष्ठ, सरोज पाक्रिन र निशान कुँवरले टोलीको सहभागिता तथा व्यवस्थापनमा सहयोग गरेका थिए। धनुष भण्डारीले महोत्सवका महत्वपूर्ण क्षणलाई तस्बिरमार्फत कैद गरेका थिए।

NCB का सदस्यहरूले गिम्हे सहयोग केन्द्रको आयोजनामा सहयोग गरिएको अन्तर्राष्ट्रिय परेडमा समेत सहभागिता जनाएका थिए। विभिन्न देशका सहभागीहरूसँगै नेपाली पहिचान प्रस्तुत गर्दै उनीहरूले सांस्कृतिक विविधता, आपसी सद्भाव र एकताको सन्देश दिएका थिए।

सन् २०२५ मा स्थापना भएको NCB बुसानमा रहेका नेपाली विद्यार्थीलाई एकताबद्ध गर्ने, आवश्यक सहयोग प्रदान गर्ने तथा नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित गैरनाफामूलक सामुदायिक संस्था हो।

१५औँ दा-ओउलिम महोत्सवमा प्राप्त सफलताले दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीको प्रतिभा, मेहनत र सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण योगदान दिएको छ। NCB ले यस उपलब्धिका लागि सहभागी कलाकार, सहयोगी सदस्य तथा आयोजकप्रति आभार व्यक्त गरेको छ।



सम्बन्धित खबर

सम्पर्क

Gopikrishna, Chabahil-Kathmandu

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka