पोर्चुगलको आप्रवासन कानुनमा कडाइ, नागरिकता लिन १० बर्ष बस्नुपर्ने, ५६ हजार नेपाली प्रभावित हुने
विश्वव्यापी रुपमा आप्रवासनसम्बन्धि कानुनमा कडाई गर्ने विश्वव्यापी लहर चलेको छ । सोही लहरको पछिल्लो प्रयोग पोर्चुगलले गर्दा आप्रवासीमा नयाँ तरंग ल्याएको छ । जसबाट यूरोप छिर्ने नाकाका रुपमा रहेको पोर्चूगलमा कडाई भएपछि पुरा यूरोप आप्रवासीका लागि कडाई हुँदै जाने संकेत शर भएको छ । सोही क्रममा पोर्चुगलले विदेशी नागरिकको प्रवेश, रोजगारी, बसोबास अनुमति र नागरिकता प्राप्त गर्ने प्रक्रियामा महत्त्वपूर्ण कानुनी परिवर्तन गरेको छ। नयाँ व्यवस्थाले नेपालसहित गैरयुरोपेली देशका नागरिकलाई पोर्चुगलमा काम गर्न, परिवारका सदस्य बोलाउन तथा भविष्यमा नागरिकता प्राप्त गर्न थप सर्त पूरा गर्नुपर्ने अवस्था सिर्जना गरेको छ। सन् २०१५ मा नियमित बसोबासको हैसियत भएका विदेशी नागरिकको संख्या तीन लाख ८८ हजार ७३१ रहेकामा सन् २०२५ को अन्त्यसम्म आइपुग्दा यो संख्या बढेर १५ लाख ८५ हजार ८५४ पुगेको छ।
पोर्चुगलले सन् २०२५ मा आप्रवासनसम्बन्धी कानुन संशोधन गरेको थियो। त्यसपछि सन् २०२६ मा नागरिकतासम्बन्धी कानुनमा समेत परिवर्तन भएको छ। यी दुई कानुनले भिसा, बसोबास अनुमति र नागरिकता प्राप्त गर्ने प्रक्रियालाई अलगअलग रूपमा प्रभावित गरेका छन्। त्यो संगै पोचुर्गलमा अब नागरिकता लिनका लागि १० बर्ष कुर्नुपर्ने अवस्था श्रृजना भएको छ ।
रोजगारी खोज्ने भिसामा नयाँ व्यवस्था
पोर्चुगलको कानुन नं ६१ र २०२५ ले सामान्य रोजगारी खोज्ने भिसाको सट्टा योग्यताआधारित रोजगारी खोज्ने भिसाको व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार पोर्चुगलमा रोजगारी खोज्न चाहने विदेशी नागरिकले सम्बन्धित योग्यता तथा लागू हुने अन्य सर्त पूरा गर्नुपर्ने हुन्छ। यस परिवर्तनले नेपालबाट पोर्चुगल गएर रोजगारी खोज्ने योजना बनाइरहेका व्यक्तिलाई पनि असर गर्न सक्छ। आवेदकले आफ्नो शैक्षिक योग्यता, पेसागत दक्षता र सम्बन्धित भिसाको उपलब्धताबारे पोर्चुगलको आधिकारिक निकायबाट जानकारी लिनुपर्ने हुन्छ।
अब पोर्चुगलमा पर्यटक भिसामा गएर बसोबास अनुमति लिने पुरानो बाटो बन्द हुने भएको छ । पोर्चुगलमा आप्रवासनसम्बन्धी सबैभन्दा महत्त्वपूर्ण परिवर्तनमध्ये एक प्रक्रिया बन्द हुनु हो। यसअघिको व्यवस्थाअन्तर्गत केही विदेशी नागरिक पोर्चुगल प्रवेश गरेपछि रोजगारी वा स्वरोजगारको आधारमा बसोबास अनुमति लिन आवेदन दिन सक्थे। तर सन् २०२४ जुनदेखि नयाँ आवेदकका लागि यो प्रक्रिया हटाइएको थियो। त्यसपछिका कानुनी परिवर्तनले पुरानो व्यवस्थाअन्तर्गतका आवेदन र संक्रमणकालीन प्रावधानलाई थप स्पष्ट गरेका छन्।
यसको अर्थ पर्यटक भिसामा पोर्चुगल पुगेर काम खोज्दै बसोबास अनुमति बनाउने पुरानो प्रक्रियामा नयाँ आवेदकले भर पर्न सक्दैनन्। उपयुक्त भिसा र कानुनी प्रक्रिया पूरा गरेर पोर्चुगल प्रवेश गर्नु महत्त्वपूर्ण भएको छ।
परिवार पुनर्मिलनमा नयाँ सर्त
पोर्चुगलमा कानुनी रूपमा बसोबास गरिरहेका विदेशी नागरिकले पति वा पत्नी, छोराछोरी तथा कानुनले योग्य ठहर गरेका अन्य परिवारका सदस्यलाई बोलाउन पाउने व्यवस्था कायम छ। तर परिवार पुनर्मिलनका लागि बसोबासको अवस्था, पारिवारिक सम्बन्ध, आर्थिक स्रोत तथा आवश्यक कागजातसम्बन्धी सर्त पूरा गर्नुपर्ने हुन्छ।
नयाँ कानुनी व्यवस्थाले परिवार पुनर्मिलनका प्रक्रियामा परिवर्तन ल्याएकाले पोर्चुगलमा काम गरिरहेका नेपालीले परिवार बोलाउनुअघि आफ्नो बसोबास अनुमतिको अवस्था र लागू हुने नियमबारे जानकारी लिनुपर्ने देखिन्छ।
नागरिकता प्राप्त गर्न १० वर्ष बसोबासको व्यवस्था
पोर्चुगलको नागरिकता कानुनमा भएको परिवर्तनले विदेशी नागरिकका लागि नागरिकता आवेदन दिन आवश्यक बसोबास अवधिमा समेत असर पारेको छ।
नयाँ व्यवस्थाअनुसार नेपालसहित अधिकांश गैरयुरोपेली देशका नागरिकले पोर्चुगिज नागरिकताका लागि आवेदन दिन सामान्यतया १० वर्षको कानुनी बसोबास अवधि पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। पोर्चुगिज भाषी देशका नागरिक तथा युरोपेली संघका नागरिकका लागि भने सात वर्षको अवधि तोकिएको छ।
नागरिकता प्राप्त गर्न बसोबास अवधि पूरा गर्नु मात्रै पर्याप्त हुने छैन। आवेदकले पोर्चुगिज भाषा, देशको इतिहास, संस्कृति, राष्ट्रिय प्रतीक, नागरिकका अधिकार तथा कर्तव्यसम्बन्धी सर्त पनि पूरा गर्नुपर्ने हुन्छ। यसबाहेक कानुनले तोकेका आपराधिक पृष्ठभूमि तथा अन्य योग्यतासम्बन्धी प्रावधान लागू हुन्छन्।
नयाँ कानुन लागू हुनुअघि पेस गरिएका आवेदनमा पुरानो व्यवस्था लागू हुने वा नहुने विषय आवेदनको मिति र सम्बन्धित संक्रमणकालीन प्रावधानमा निर्भर हुन सक्छ। त्यसैले नागरिकताका लागि आवेदन दिइसकेका व्यक्तिले आफ्नो अवस्थाअनुसार लागू हुने नियम पुष्टि गर्न आवश्यक छ।
पोर्चुगलमा रहेका ५६ हजार नेपालीमा कस्तो प्रभाव पर्ला ?
पोर्चुगलमा नेपाली नागरिकको उपस्थिति बढ्दै गएको सन्दर्भमा नयाँ कानुनी व्यवस्थाले रोजगारी, परिवार पुनर्मिलन र दीर्घकालीन बसोबासको योजना बनाइरहेका नेपालीलाई प्रभावित गर्न सक्छ। पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघेको छ । पोर्चुगलको राष्ट्रिय तथ्यांक संस्थान ९आईएनई०को तथ्यांकअनुसार सन् २०२५ मा पोर्चुगलमा नेपाली नागरिकको संख्या ५६ हजार ८६६ पुगेको छ । यो पोर्चुगलमा रहेका आप्रवासीमध्ये पाँचौँ ठूलो संख्या हो ।
नेपालीमध्ये ३८ हजार ३३५ पुरुष र १८ हजार ५३१ महिला रहेका छन् । पोर्चुगलको नागरिकता लिइसकेका नेपाली भने उक्त तथ्यांकमा समावेश छैनन् ।
पोर्चुगलमा नेपालीको संख्या पछिल्ला चार वर्षमा १३६.८ प्रतिशतले वृद्धि भएको छ । नेपालबाट पोर्चुगल जान चाहने व्यक्तिले आफूलाई उपयुक्त भिसा, कामको प्रकृति र योग्यतासम्बन्धी सर्त पहिले नै बुझ्नुपर्ने हुन्छ। त्यस्तै, पोर्चुगलमा बसिरहेका नेपालीले आफ्नो बसोबास अनुमति नवीकरण, परिवार बोलाउने प्रक्रिया र नागरिकताका लागि आवश्यक अवधि तथा योग्यताबारे आधिकारिक जानकारी लिनु आवश्यक छ। पोर्चुगलको आप्रवासन तथा शरण निकाय , आधिकारिक कानुनी राजपत्र र न्याय मन्त्रालयबाट पछिल्लो नियमबारे जानकारी लिन सकिन्छ।
पोर्चुगलको आप्रवासन कानुन र नागरिकता कानुन फरक विषय भएकाले दुवैलाई एउटै नियमका रूपमा बुझ्नु हुँदैन। विशेषगरी नयाँ भिसा व्यवस्था, परिवार पुनर्मिलन र नागरिकता आवेदनसम्बन्धी प्रावधान आफ्नो अवस्थाअनुसार जाँच गरेर मात्र निर्णय लिनु उपयुक्त हुन्छ।
पोर्चुगलले आप्रवासन तथा नागरिकतासम्बन्धी कानुनमा गरेको परिवर्तनले नेपालीसहित विदेशी नागरिकको दीर्घकालीन बसोबास, परिवार पुनर्मिलन र नागरिकता प्राप्त गर्ने प्रक्रियामा प्रभाव पार्ने भएको छ। नयाँ व्यवस्थाअनुसार नेपालसहित अधिकांश गैरयुरोपेली देशका नागरिकले प्राकृतिककरणमार्फत पोर्चुगिज नागरिकता लिन सामान्यतया १० वर्षको कानुनी बसोबास अवधि पूरा गर्नुपर्नेछ। त्यस्तै, परिवार पुनर्मिलनका लागि पनि निश्चित अवधि वैध बसोबास गरेको हुनुपर्ने व्यवस्था गरिएको छ।
पोर्चुगलले आप्रवासनसम्बन्धी कानुन नं। ६१र२०२५ र नागरिकतासम्बन्धी कानुन नं। १र२०२६ मार्फत प्रवेश, बसोबास अनुमति, परिवार पुनर्मिलन र नागरिकता प्राप्त गर्ने प्रक्रियामा परिवर्तन गरेको हो।
परिवार पुनर्मिलनका लागि दुई वर्षको बसोबास अवधि
पोर्चुगलमा कानुनी रूपमा बसोबास गरिरहेका विदेशी नागरिकले आफ्नो पति वा पत्नी, छोराछोरी तथा कानुनले योग्य ठहर गरेका अन्य परिवारका सदस्यलाई पोर्चुगल बोलाउन पाउने व्यवस्था कायम छ। तर, नयाँ आप्रवासन कानुनले परिवार पुनर्मिलनका लागि थप सर्त तोकेको छ।
सामान्य अवस्थामा परिवार पुनर्मिलनको आवेदन दिन प्रायोजक अर्थात् पोर्चुगलमा बसोबास गरिरहेको व्यक्तिसँग कम्तीमा दुई वर्षको वैध बसोबास अनुमति हुनुपर्ने व्यवस्था छ। पति वा पत्नीका हकमा विशेष सर्त पूरा भएमा यो अवधि १५ महिनासम्म हुन सक्ने व्यवस्था पनि छ। यसका लागि दम्पतीले पोर्चुगल प्रवेश गर्नुअघि कम्तीमा १८ महिना सँगै बसेको प्रमाण पेस गर्नुपर्ने हुन्छ। नाबालिग वा असक्षम आश्रित व्यक्ति तथा कानुनले तोकेका केही अन्य श्रेणीका परिवारका सदस्यका लागि भने प्रतीक्षा अवधिमा अपवाद लागू हुन सक्छ।
आवास र आम्दानीको प्रमाण आवश्यक
परिवार पुनर्मिलनका लागि आवेदन दिने व्यक्तिले परिवारका सदस्यलाई राख्न पर्याप्त र उपयुक्त आवास भएको तथा परिवारको खर्च धान्न पर्याप्त आर्थिक स्रोत रहेको प्रमाण देखाउनुपर्ने हुन सक्छ। यसका अतिरिक्त पारिवारिक सम्बन्ध प्रमाणित गर्ने कागजात, वैध बसोबास अनुमति र सम्बन्धित निकायले माग गरेका अन्य कागजात पेस गर्नुपर्ने हुन्छ। परिवार पुनर्मिलनमार्फत पोर्चुगल पुगेका व्यक्तिले पनि आफ्नो अवस्थाअनुसार लागू हुने भाषा, सामाजिक एकीकरण र अन्य कानुनी सर्त पूरा गर्नुपर्ने हुन सक्छ।
पोर्चुगलले सन् २०२५ अक्टोबर २३ देखि लागू हुने गरी सामान्य रोजगारी खोज्ने भिसाको सट्टा योग्यताआधारित रोजगारी खोज्ने भिसाको व्यवस्था गरेको छ।
नयाँ व्यवस्थाअनुसार पोर्चुगलमा काम खोज्न चाहने विदेशी नागरिकले सम्बन्धित योग्यता तथा भिसाका अन्य सर्त पूरा गर्नुपर्ने हुन्छ। यसले नेपालबाट रोजगारीका लागि पोर्चुगल जान चाहने व्यक्तिलाई पनि असर पार्न सक्छ।
यसअघि पोर्चुगल प्रवेश गरेपछि रोजगारी वा स्वरोजगारको आधारमा बसोबास अनुमति लिन प्रयोग गरिने प्रक्रिया सन् २०२४ जुनदेखि नयाँ आवेदकका लागि बन्द गरिएको थियो। त्यसैले पर्यटक भिसामा पोर्चुगल पुगेर काम खोज्दै बसोबास अनुमति बनाउने पुरानो प्रक्रियामा भर पर्नु उपयुक्त हुँदैन।
नेपालीको संख्या बढेसँगै पोर्चुगलमा नेपाली संघसंस्थाको संस्थागत उपस्थिति र नेपाल सरकारको कूटनीतिक सक्रियता पनि विस्तार भएको छ । नेपाल सरकारले २०८० मा पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्न पहल गरेको थियो । सोही वर्ष मंसिरमा पोर्चुगलले लिस्बोनमा नेपाली दूतावास खोल्न सहमति दिएको थियो । त्यसपछि २०८१ मा लिस्बोनमा नेपाली दूतावास स्थापना भएको थियो ।
यसैबीच, पोर्चुगलले पनि नेपालमा आफ्नो कूटनीतिक उपस्थिति विस्तार गर्न प्रक्रिया अघि बढाएको छ । पोर्चुगलले काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न नेपाल सरकारसँग सहमति मागेकोमा मन्त्रिपरिषद्ले २०८३ साउन २६ गते काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको थियो । त्यसपछि पोर्चुगलले काउन्सिलर कार्यालयभन्दा माथिल्लो तहको महावाणिज्य दूतावास स्थापना गर्न अनुमति मागेको छ ।
यही बढ्दो नेपाली जनसंख्यालाई मध्यनजर गर्दै एनआरएनए पोर्चुगलले लिस्बोनमा आफ्नो कार्यालय सञ्चालनमा ल्याउन लागेको हो । संघका अनुसार कार्यालयबाट नेपाली समुदायले प्रत्यक्ष रूपमा आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श लिन सक्नेछन् ।
पोर्चुगलमा पछिल्लो १० बर्षमा १२ अबैध आप्रवासी बढे ?
युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो एक दशकमा विदेशी नागरिकको संख्या उल्लेखनीय रूपमा बढेको छ। सन् २०१५ मा नियमित बसोबासको हैसियत भएका विदेशी नागरिकको संख्या तीन लाख ८८ हजार ७३१ रहेकामा सन् २०२५ को अन्त्यसम्म आइपुग्दा यो संख्या बढेर १५ लाख ८५ हजार ८५४ पुगेको छ।
उपलब्ध तथ्यांकअनुसार, १० वर्षको अवधिमा पोर्चुगलमा बसोबास गर्ने विदेशी नागरिकको संख्या ११ लाख ९७ हजारभन्दा बढीले बढेको हो। यो सन् २०१५ को तुलनामा करिब ३०८ प्रतिशत वृद्धि हो। अर्थात्, एक दशकमा विदेशी बासिन्दाको संख्या चार गुणाभन्दा बढी पुगेको छ।
पोर्चुगलको आप्रवासन तथा शरण एजेन्सी (एआईएमए) का तथ्यांकमा आधारित विवरणअनुसार, देशमा विदेशी नागरिकको संख्या बढ्दै जाँदा पोर्चुगलको जनसंख्यामा उनीहरूको हिस्सा पनि विस्तार भएको छ। सन् २०२५ को अन्त्यसम्म विदेशी नागरिकले देशको कुल जनसंख्याको करिब १३.९ प्रतिशत हिस्सा ओगटेको विवरणमा उल्लेख छ।
ब्राजिलसहित विभिन्न देशका नागरिकको उपस्थिति
पोर्चुगलमा बसोबास गर्ने विदेशी नागरिकमध्ये ब्राजिलका नागरिक सबैभन्दा ठूलो समूहमा छन्। सन् २०२४ को तथ्यांकअनुसार, पोर्चुगलमा बसोबास गर्ने विदेशी नागरिकमध्ये करिब ४ लाख ८४ हजार ६०० जना ब्राजिलका नागरिक थिए। त्यसपछि भारत र अंगोलाका नागरिकको उल्लेख्य उपस्थिति रहेको छ।
दक्षिण अमेरिका, अफ्रिका र एसियाली मुलुकबाट पोर्चुगल जाने आप्रवासीको संख्या पनि महत्वपूर्ण छ। रोजगारी, अध्ययन, पारिवारिक पुनर्मिलन र सुरक्षित तथा स्थिर जीवनको खोजी आप्रवासनका प्रमुख कारणमध्ये पर्छन्।