बाढीपीडितका लागि NRNA दक्षिण कोरियाद्वारा दोस्रो चरणमा ४ लाखभन्दा बढी राहत सहयोग
काठमाडौं। गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाले नेपालका बाढीपीडितको सहयोगका लागि दोस्रो चरणमा ४ लाख रुपैयाँभन्दा बढी राहत रकम हस्तान्तरण गरेको छ।
चीनको तिब्बत क्षेत्रमा हिमताल विस्फोटपछि २०८३ साल भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत विभिन्न जिल्लामा जनधनको क्षति भएको थियो। बाढी प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले NRNA दक्षिण कोरियाले राहत सहयोग सङ्कलन अभियान सञ्चालन गरेको हो।
संघका अनुसार पहिलो चरणमा ६३ लाख ८८ हजार ६४८ कोरियन वन अर्थात् नेपाली रुपैयाँ ७ लाख ३ हजार ५०० राहत रकम NRNA Emergency Fund मा पठाइएको थियो।
त्यसैगरी, NRNA दक्षिण कोरियाको नवौँ कार्यसमितिका उपाध्यक्ष हरि प्रसाद भट्टराईको नेतृत्वमा जेबी बैंकका कर्मचारीहरूले संयुक्त रूपमा दोस्रो चरणमा ३७ लाख कोरियन वन सहयोग गरेका छन्। उक्त रकम नेपाली रुपैयाँ ४ लाख ७ हजार ३१२ बराबर रहेको संघले जनाएको छ।

दुवै चरणमा गरी हालसम्म १ करोड ८८ हजार ६४८ कोरियन वन अर्थात् नेपाली रुपैयाँ ११ लाख १० हजार ८१२ राहत रकम सङ्कलन भएको छ। संघका अनुसार उक्त रकम गैरआवासीय नेपाली संघको आपत्कालीन राहत कोषमा रहेको ग्लोबल आइएमई बैंकको खातामा जम्मा गरिसकिएको छ।
यस मानवीय अभियानमा योगदान पुर्याउने हरि प्रसाद भट्टराई तथा जेबी बैंकका सम्पूर्ण सहयोगी कर्मचारीहरूप्रति NRNA दक्षिण कोरियाले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।
प्रवासमा रहेर पनि मातृभूमिमा विपद्मा परेका नागरिकलाई सहयोग गर्ने नेपाली समुदायको यो प्रयासले बाढी प्रभावित परिवारलाई राहत पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।