समाचार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार


Logo
Prawash Tv
०१ चैत, २०८२
अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं : कम्बोडियामा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा फसाइएका २१ नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ। विभिन्न व्यक्तिको प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी गतिविधिमा संलग्न गराइएको तथा धेरैजसो बिना भिसा त्यहाँ बसिरहेका थिए।

थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरिएको हो। उद्धारपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

दूतावासका अनुसार कम्बोडियामा अझै पनि केही नेपाली नागरिक कठिन परिस्थितिमा रहेको जानकारी आएको छ। त्यस्ता व्यक्तिहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन पहल जारी रहेको पनि दूतावासले जनाएको छ।

दूतावासले कम्बोडियामा केही नेपालीलाई अनलाइन ठगीसम्बन्धी गतिविधिमा जबरजस्ती संलग्न गराइएको तथा कतिपय भिसा अवधि सकिएपछि पनि बसिरहेको जानकारी प्राप्त भएको जनाएको छ। अवैध रूपमा बसिरहेका वा समस्यामा परेका नेपालीलाई नेपाल फर्कन सहजीकरणका लागि बैंककस्थित नेपाली दूतावास वा कम्बोडियास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

कम्बोडियाका स्क्यामिङ केन्द्रहरूमा काम गराइएका धेरै नेपालीले कम्पनीले राहदानी जफत गरेको वा स्थानान्तरणका क्रममा राहदानी हराएको गुनासो पनि गरेका छन्। यस्तो अवस्थामा नेपाल फर्किन आवश्यक पर्ने कागजातका लागि बैंककस्थित नेपाली दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांक अनुसार पछिल्ला वर्षहरूमा त्यहाँ जाने नेपालीको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। सन् २०२१ मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया पुगेका थिए भने २०२२ मा यो संख्या बढेर १ हजार ९७७ पुगेको थियो। त्यस्तै २०२३ मा २ हजार ९४०, २०२४ मा ६ हजार ४०४ र २०२५ मा ९ हजार ६७६ नेपाली कम्बोडिया पुगेको तथ्यांकमा उल्लेख छ।

दूतावासले नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गर्दै छिटो र धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यान्मा र थाइल्याण्डजस्ता देशमा भ्रमणको बहाना बनाएर रोजगारीका लागि नजान सबै नेपालीलाई सचेत गराएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka