५४३ केयरगिभर इजरायल तिर

दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि हालसम्म ५४३ जना नेपाली केयरगिभर इजरायल पुगेका छन्। वैदेशिक रोजगार विभागको इजरायल शाखाका निर्देशक गिरिराज ज्ञवालीका अनुसार उनीहरू क्रमिक रूपमा कार्यस्थलमा खटिइसकेका छन्।
इजरायल सरकारले एक हजार मुख्य तथा एक हजार वैकल्पिक कामदारको कोटा खुला गरेपछि ९१९ जना नेपाली उम्मेदवार छनोट भएका थिए। तीमध्ये धेरैजसो इजरायल पुगिसकेका छन् भने बाँकीलाई क्रमिक रूपमा पठाउने प्रक्रिया जारी छ।
अब ३७ जना कामदार जाने तयारीमा छन् भने ३२ जनाले श्रम सम्झौता गरिसकेका छन्। अन्यको भने सम्झौता र भिसा प्रक्रियामा काम भइरहेको छ।
विभागले २०८० साल असार ११ गते केयरगिभरको लागि आवेदन आह्वान गरेको थियो। उक्त अवसरमा ४,०२४ जनाले अनलाइन फारम भरेका थिए। तीमध्ये ३,४६१ वटा आवेदन स्वीकृत गरिए भने बाँकी आवेदनहरूमा विभिन्न कैफियत देखिएपछि अस्वीकृत गरिएको विभागले जनाएको छ।