समाचार

अध्यक्षको क्षमायाचनामै सकियो संघको विवाद


Logo
Prawash Tv
१७ वैशाख, २०८३
अध्यक्षको क्षमायाचनामै सकियो संघको विवाद

काठमाडौं : क्षमायाचना, आत्मालोचना र आपसी समझदारीपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको विवाद एक साताभित्रै समाधान भएको छ। संघको कार्यसमितिका प्रथम उपाध्यक्षसहित पाँच पदाधिकारी र छ जना कार्यसमिति सदस्यहरूले गत सोमबार सामूहिक रूपमा लिखित राजीनामा दिएपछि उत्पन्न भएको असमझदारीले संगठनभित्र गम्भीर तनाव सिर्जना गरेको थियो। तर, संघका पूर्वअध्यक्षहरूको सक्रिय पहल र मध्यस्थतामा दुवै पक्षलाई एकैठाउँमा राखेर गरिएको छलफलपछि समस्या समाधानतर्फ पुगेको हो।

वैदेशिक रोजगार क्षेत्र स्वयं विभिन्न चुनौती र संकटबाट गुज्रिरहेको वर्तमान अवस्थामा संघभित्रको विभाजनले समग्र क्षेत्रलाई कमजोर बनाउने चिन्ता व्यक्त गर्दै पूर्वअध्यक्षहरू दिल प्रसाद पोखरेल, प्रेमबहादुर कटुवाल, विमल ढकाल, रोहन गुरूङ र राजेन्द्र भण्डारीलगायतले अग्रसरता देखाएका थिए। उनीहरूले अध्यक्ष भुवनसिंह गुरूङद्वारा सल्लाहकारद्वय नवराज केसी र धनलाल जैसीलाई पदमुक्त गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै त्यसले अनावश्यक विवाद निम्त्याएको बताएका थिए।

अध्यक्ष गुरूङले भने उक्त निर्णय विभिन्न कारणले उत्पन्न भ्रम र आशंकालाई मध्यनजर गर्दै लिएको स्पष्ट पार्दै, संगठनभित्र एकता कायम गर्न आफू आत्मालोचना गर्न र आवश्यक परे क्षमायाचना गर्नसमेत तयार रहेको धारणा व्यक्त गरेका थिए। उनले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको र संघको हितलाई नै प्राथमिकता दिएको बताए। साथै, उनले सल्लाहकारहरू हटाउने निर्णय फिर्ता लिन सकिने संकेत दिँदै सबै पक्षलाई मिलाएर अघि बढ्न प्रतिबद्धता जनाएका थिए।

यस विवादका कारण वैदेशिक रोजगार क्षेत्रमा असहज अवस्था सिर्जना हुनुका साथै विषय जिल्ला प्रशासन कार्यालय काठमाडौंसम्म पुगेको थियो। अध्यक्ष गुरूङले त्यससम्बन्धी स्पष्टीकरण प्रशासनसमक्ष पेश गरेका थिए। प्रमुख जिल्ला प्रशासन कार्यालयले पनि संघको विधानअनुसार विषयको अध्ययन गरिरहेको थियो।

बुधबार भएको महत्वपूर्ण छलफलमा दुवै पक्षबीच समझदारी कायम भएको बताइएको छ। छलफलका क्रममा कार्यसमिति र सल्लाहकारहरूलाई यथावत् राख्ने, तथा अध्यक्ष गुरूङकै संयोजकत्वमा पूर्वअध्यक्षहरू सहसंयोजक रहने गरी एक ‘स्टेरिङ कमिटी’ गठन गरेर संघलाई अघि बढाउने प्रस्तावमा सहमति बनेको छ। यद्यपि, यस विषयमा औपचारिक निर्णय भने अध्यक्ष गुरूङले सार्वजनिक गरिसकेका छैनन्।

उता, अध्यक्ष गुरूङले असन्तुष्ट पक्षले दिएको राजीनामा भने संघको विधानअनुसार अस्वीकृत गरिसकेका छन्। उनले सबै पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो क्षमता अनुसारको जिम्मेवारी सम्हाल्दै संगठनको कामलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन्। उनले संघको दुईवर्षे कार्यकालमध्ये एक वर्ष बितिसकेको उल्लेख गर्दै बाँकी अवधिमा एकताबद्ध भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

विवादको केन्द्रमा अध्यक्षको कार्यशैली रहेको बताउँदै प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिञ्जाली तथा कार्यसमिति सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले सामूहिक राजीनामा दिएका थिए। उनीहरूको मुख्य गुनासो निर्णय प्रक्रियामा पारदर्शिता र समन्वयको अभाव रहेको थियो।

समग्रमा, पूर्वअध्यक्षहरूको सक्रिय मध्यस्थता, अध्यक्षको लचकता र असन्तुष्ट पक्षको सहमतिपछि संघभित्रको विवाद समाधानतर्फ उन्मुख भएको छ। यस घटनाले संगठनभित्र संवाद, सहकार्य र पारदर्शिताको महत्व पुनः एकपटक उजागर गरेको छ। आगामी दिनमा संघले वैदेशिक रोजगार क्षेत्रका चुनौतीहरू समाधान गर्न एकीकृत रूपमा काम गर्ने अपेक्षा गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka