सीआईआईएनद्वारा इजरायल रोजगारको भाषा परीक्षा अर्को सूचना नभएसम्म बन्द
काठमाडौं । इजरायल रोजगारीका लागि आवश्यक अंग्रेजी भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ। परीक्षा सञ्चालनमा अव्यवस्था भएको तथा शुल्क अत्यधिक रहेको भन्दै परीक्षार्थीहरूले विरोध जनाएपछि परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको हो।
मंगलबार परीक्षा केन्द्रमा परीक्षार्थीहरूले व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै प्रदर्शन गरेका थिए। विरोधका क्रममा झडपसमेत भएको थियो। त्यसपछि परीक्षा सञ्चालनको जिम्मेवारी पाएको इन्टरनेसनल क्वालिफिकेसन प्रालि (सीआईआईएन)ले अप्रत्याशित परिस्थितिको कारण देखाउँदै भाषा परीक्षा स्थगित गरेको जनाएको छ।
संस्थाले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सूचनामा जुन ९ मा सञ्चालन भइरहेको परीक्षाका क्रममा केही व्यक्तिहरू जबरजस्ती परीक्षा हलमा प्रवेश गरी कर्मचारी तथा परीक्षार्थीमाथि आक्रमण गरेको र परीक्षा अवरुद्ध पारेको उल्लेख गरिएको छ।
यही घटनालाई मध्यनजर गर्दै जुन ९ का साथै जुन १० मा सञ्चालन हुने तय भएको परीक्षा पनि स्थगित गरिएको संस्थाले जनाएको छ। नयाँ परीक्षा मिति र समयबारे जानकारी आगामी सूचनामार्फत सार्वजनिक गरिने बताइएको छ।
इजरायल रोजगारी कार्यक्रमअन्तर्गत सञ्चालन हुने अंग्रेजी भाषा परीक्षणको जिम्मेवारी त्रिपुरेश्वरस्थित सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसन्सले पाएको छ।