समाचार

वैदेशिक रोजगारको ठगी नियन्त्रण नयाँ श्रममन्त्रीको प्राथमिकता


Logo
Prawash Tv
१९ चैत, २०८२
वैदेशिक रोजगारको ठगी नियन्त्रण नयाँ श्रममन्त्रीको प्राथमिकता

काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले वैदेशिक रोजगार क्षेत्रमा भइरहेको ठगी नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने घोषणा गरेका छन्।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै मन्त्री साहले वैदेशिक रोजगारका नाममा भइरहेको ठगी नै सबैभन्दा ठूलो चुनौती भएको बताए। उनले त्यही दिन वैदेशिक रोजगार विभागको निरीक्षण पनि गरेका थिए। विभागमा ४० हजारभन्दा बढी उजुरी रहेको जानकारी पाएपछि आफू आश्चर्यचकित भएको बताए।
उनका अनुसार– “कार्यालय जलेर केही तथ्यांक नष्ट भएको छ। महानिर्देशकले १८ हजार उजुरी रहेको बताउनुभएको छ। हामी अब यस विषयमा गहन अध्ययन गरेर अघि बढ्छौँ।”

मन्त्री साहले वैदेशिक रोजगारमा गएका नेपाली कामदार कुन देशमा छन् भन्ने कुरा ट्र्याक गर्ने एप बनाइने जानकारी दिए।
त्यस्तै, विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम (Orientation Training) अनलाइन कोर्समार्फत निःशुल्क उपलब्ध गराइने पनि उनले घोषणा गरे।
उनले भने, “अहिलेको ७ सय रुपैयाँ शुल्क हटाएर सबैलाई निःशुल्क तालिम दिने तयारी भइरहेको छ।”

वैदेशिक रोजगार प्रशासनमा सुधारको सुरुवात टोकन प्रणाली हटाएर गरिसकिएको पनि मन्त्री साहले बताए।

उनका अनुसार, ठगी नियन्त्रणसँगै आन्तरिक रोजगारी प्रवर्धन नै आफ्नो अर्को मुख्य लक्ष्य हो।
“देश विकासको मेरुदण्ड आन्तरिक रोजगारी हो। श्रमिकको सीप, दक्षता र गुणस्तर बढाउने दिशामा काम भइरहेको छ। तत्काल परिणाम नआए पनि क्रमिक सुधार हुनेछ,” मन्त्री साहले थपे।

तलब संरचना सुधारबारे बोल्दै उनले सरकारी पदलाई आधार मानेर न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने बताए। अब महिनाको तलब प्रणालीलाई परिवर्तन गरी घण्टै–आधारित तलब प्रणाली लागू गर्न छुट्टै कार्यविधि बनाइने उनको भनाइ छ।

कार्यस्थल तथा व्यवसायजन्य सुरक्षामा सुधार ल्याउने लक्ष्यसहित सामाजिक सुरक्षा कोषमा हाल रहेका ७ लाख योगदानकर्तालाई २२ लाख पुर्‍याउने योजना रहेको उनले बताए।

मन्त्री साहले जनकपुरबाट ३९० घण्टे सीप तालिम कार्यक्रम सुरु गरिने जानकारी पनि दिए।

मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार मध्यपूर्वमा समस्यामा परेका नेपालीको आपतकालीन उद्धारका लागि परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको छ। १२ श्रम गन्तव्य मुलुकमा रहेका काउन्सेलर श्रम तथा श्रम सहचारीसँग छलफल गरी वास्तविक अवस्था बुझिएको उनले बताए।
त्यसैगरी, वैदेशिक रोजगारमा ठगिएमा आवाज रेकर्ड गरेर उजुरी गर्न सकिने एप निर्माण भइरहेको जानकारी पनि उनले दिए।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka