वैदेशिक रोजगार विभागका कर्मचारीले घरबाटै श्रम स्वीकृति दिन थालेका छन् ।
वैदेशिक रोजगार विभागका कर्मचारीले घरबाटै श्रम स्वीकृति दिन थालेका छन् । जेनजी आन्दोलनकारीको प्रदर्शनका क्रममा विभागमा भएको आगलागीले आंशिक क्षति पुर्याएपछि यस्तो व्यवस्था गरिएको हो ।
विभागका तीन ब्लकमध्ये श्रम स्वीकृति प्रदान गर्ने माथिल्लो ब्लक सुरक्षित रहेकाले स्वीकृति प्रक्रियामा समस्या छैन । तर, आगलागीले महानिर्देशक कमलप्रसाद भट्टराईसहित निर्देशकहरूको कार्यकक्षमा क्षति पु¥याएको छ । केही दिनअघि मात्रै रेनोभेसन गरिएको महानिर्देशक भट्टराईको कार्यकक्ष समेत जलेको छ । आन्दोलनकारीले विभागका दुई मोटरसाइकलमा आगजनी गरेका थिए ।
सर्भर सुरक्षित रहेकाले श्रम स्वीकृति, उजुरी दर्ता, नयाँ म्यानपावर कम्पनी दर्ता तथा खारेजी, राहत, उद्धार, मेलमिलाप, अनुसन्धान र अभियोजनजस्ता सेवामा अवरोध नभएको विभागले जनाएको छ ।
महानिर्देशक भट्टराईले मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण अन्य क्षेत्रझैं विभागको सेवामा पनि कठिनाइ देखिएको बताए । अवस्था सामान्य नहुन्जेलसम्म कर्मचारीले घरमै बसेर अनलाइनमार्फत सेवा प्रवाह गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।