समाचार

शैक्षिक कन्सल्टेन्सीहरूलाई वैदेशिक रोजगारको काम नगर्न विभागको चेतावनी


Logo
Prawash Tv
१७ चैत, २०८२
शैक्षिक कन्सल्टेन्सीहरूलाई वैदेशिक रोजगारको काम नगर्न विभागको चेतावनी

वैदेशिक रोजगार विभागले शैक्षिक कन्सल्टेन्सी, ट्राभल एजेन्सी तथा अनलाइन माध्यममार्फत वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार जारी सूचनामा विभागले विभिन्न माध्यम प्रयोग गरेर नेपाली नागरिकलाई विदेश पठाइदिने प्रलोभन देखाउँदै रकम असुल्ने र अन्तर्वार्ता सञ्चालन गर्ने जस्ता गतिविधि बढ्दै गएको उल्लेख गरेको छ। विशेषगरी शैक्षिक परामर्श सेवाका लागि दर्ता भएका कन्सल्टेन्सी र ट्राभल एजेन्सीमार्फत यस्तो गैरकानुनी काम भइरहेको बताइएको छ।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ अनुसार इजाजतपत्र बिना कसैले पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न, विज्ञापन गर्न, अन्तर्वार्ता लिन वा रकम संकलन गर्न नपाउने स्पष्ट पारेको छ।

त्यसैगरी, वैदेशिक रोजगारीको नाममा राहदानी संकलन गर्ने, भिजिट भिसामा विदेश पठाउने बहाना गर्ने वा ठूलो रकम असुल गर्ने कार्य पूर्ण रूपमा गैरकानुनी भएको जनाइएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

विभागले सर्वसाधारणलाई इजाजतपत्र नभएका कन्सल्टेन्सी वा एजेन्सीलाई रकम वा कागजात नदिन आग्रह गरेको छ। साथै, कुनै पनि म्यानपावर कम्पनीमार्फत प्रक्रिया अघि बढाउँदा त्यसले विभागबाट स्वीकृति लिएको छ वा छैन, इजाजतपत्र वैध छ वा छैन भन्ने कुरा आधिकारिक वेबसाइटमार्फत अनिवार्य रूपमा जाँच गर्न पनि अनुरोध गरिएको छ।

यदि कसैले ठगीमा परेमा वा यस्ता गतिविधि देखिएमा विभागमा उजुरी दिन सकिने व्यवस्था रहेको पनि सूचनामा उल्लेख छ।

यसैबीच, विभागले वैदेशिक रोजगारीका लागि भर्ने आवेदन फारम नेपाली भाषामा तयार गर्न निर्देशन दिएको छ। भाषागत समस्याका कारण कामदारहरू ठगीमा पर्ने र आफूले हस्ताक्षर गरेको कागजात नबुझ्ने गुनासो बढेपछि यस्तो निर्णय गरिएको हो।

विभागका अनुसार अब करार, व्यक्तिगत विवरण तथा मञ्जुरीनामाका कागजातहरू सम्भव भएसम्म नेपाली भाषामा तयार गर्नुपर्नेछ। यदि रोजगारदाताको आवश्यकता अनुसार अंग्रेजीमा कागजात बनाउनुपर्ने भए पनि त्यसको विवरण नेपाली भाषामा समेत उपलब्ध गराउन म्यानपावर कम्पनीहरूलाई निर्देशन दिइएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka