वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ
वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सन्दिप थापा मगर, निर बहादुर कार्की, विजय कुमार यादव, चिरन्जिवी अधिकारी र प्रवेश गुरुङ रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार सन्दिप थापाले माल्टा पठाइदिने भन्दै एक जनाबाट १२ लाख रुपैयाँ ठगी गरेका थिए। निर बहादुर कार्कीले क्रोएशिया पठाइदिने बहानामा ८ जना पीडितबाट २ लाख २५ हजार रुपैयाँ असुलेका थिए।
त्यस्तै विजय कुमार यादवले कतार पठाइदिने भन्दै एक जनाबाट २ लाख २० हजार रुपैयाँ लिएको आरोप छ। चिरन्जिवी अधिकारीले क्यानडा पठाइदिने आश्वासन दिँदै ३ जना पीडितबाट ३० लाख रुपैयाँ उठाएका थिए भने प्रवेश गुरुङले मकाउ पठाइदिने भन्दै एक जनाबाट ५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट बच्न आधिकारिक म्यानपावर कम्पनी र वैधानिक प्रक्रियामार्फत मात्रै विदेश जान सर्वसाधारणलाई आग्रह गरेको छ।