वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
काठमाडौं। आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा टिका कार्की, सरिता बान्तवा राई, अग्रीम विक्रम तिमोथी, दिपक चन्द्र गौतम, धन प्रसाद काफ्ले, रूपा सुनार र रमेश स्वाँर रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले विभिन्न देशमा रोजगारी लगाइदिने भन्दै पीडितहरूबाट रकम उठाएर सम्पर्कविहीन भएका थिए।
आरोपीहरूले देशअनुसार यसरी रकम ठगी गरेको प्रहरीले जनाएको छः
टिका कार्की – साइप्रस पठाइदिने भन्दै १ जनाबाट रु. ५० हजार ठगी।
सरिता बान्तवा राई – अष्ट्रेलिया पठाइदिने भन्दै १ जनाबाट रु. ३० लाख ठगी।
अग्रीम विक्रम तिमोथी – दक्षिण अफ्रिका पठाइदिने भन्दै १ जनाबाट रु. ६ लाख ८५ हजार ठगी।
दिपक चन्द्र गौतम – ग्रिस पठाइदिने भन्दै ३ जनाबाट रु. ७ लाख ९४ हजार ठगी।
धन प्रसाद काफ्ले – यूएई पठाइदिने भन्दै १ जनाबाट रु. ८० हजार ठगी।
रूपा सुनार – पोर्चुगल पठाइदिने भन्दै ३ जनाबाट रु. २१ लाख ठगी।
रमेश स्वाँर – बेलायत (यूके) पठाइदिने भन्दै १ जनाबाट रु. ६ लाख ठगी।
पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।