वैदेशिक रोजगारीले सांस्कृतिक विचलन पनि बढायो : एमाले
सत्तारूढ दल नेकपा एमालेले वैदेशिक रोजगारीले मुलुकमा आर्थिक उत्थानसँगै सांस्कृतिक विचलन पनि बढाएको निष्कर्ष निकालेको छ।
ललितपुरको गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई टेवा दिएको भए पनि समाजमा सांस्कृतिक विचलन ल्याएको उल्लेख गरिएको छ।
प्रतिवेदनमा भनिएको छ, “आन्तरिक–बाह्य आप्रवासन, बजार अर्थतन्त्रको विस्तार, प्रविधिको सहज पहुँच र बढ्दो चेतनाले समाजलाई गतिशील बनाएको छ। तर, यसले वर्गीय सम्बन्धमा नयाँ आयाम थपे पनि उत्पादन, स्वामित्व र आय–वितरणका आधारभूत प्रश्नहरू अझै खुला छन्।”
अध्यक्ष ओलीले भने समाजका कुन–कुन क्षेत्रमा विचलन आएको हो भन्नेबारे विस्तृत व्याख्या गरेका छैनन्। विज्ञहरूका अनुसार, वैदेशिक रोजगारीका कारण परिश्रम गर्ने संस्कार हराउने, देखासिकीमा अनुत्पादक खर्च बढ्ने, बसाइँसराइ र पारिवारिक विखण्डन जस्ता समस्या देखा परेका छन्। तर, प्रतिवेदनमा यस्तो पक्षको उल्लेख छैन।
विदेशमा रहेका नेपाली र गैरआवासीय नेपालीहरूले निरन्तर उठाउँदै आएको मतदान अधिकारबारे प्रतिवेदन मौन रहेको छ। प्रतिवेदनमा ७६ प्रतिशत नेपाली परिवारले कुनै न कुनै रूपमा विप्रेषण प्राप्त गर्ने र यसले २६ वर्षमा गरिबीको दर ४२ प्रतिशतबाट २०.३ प्रतिशतमा झार्न सहयोग गरेको तथ्य राखिएको छ।
तर, विप्रेषण आयको वितरण असमान रहेको ओलीको निष्कर्ष छ। धनी परिवारले गरिबभन्दा ३.३ गुणा बढी विप्रेषण पाउने गरेको उल्लेख गर्दै उनले वर्गीय भिन्नता अझै कायम रहेको बताए। साथै, सही जानकारीको अभाव, खर्च व्यवस्थापनमा कठिनाइ र सीप नहुँदा धेरै नेपालीले जोखिमपूर्ण काम गर्न बाध्य हुने अवस्थाबारे पनि प्रतिवेदनले औंल्याएको छ