समाचार

वैदेशिक रोजगार प्रक्रियालाई सरल बनाउनुपर्नेमा जोड


Logo
Prawash Tv
०७ वैशाख, २०८३
वैदेशिक रोजगार प्रक्रियालाई सरल बनाउनुपर्नेमा जोड

विज्ञहरूले ऐन, कानुन र कार्यविधिमा सुधार गरी नेपालको वैदेशिक रोजगार प्रक्रियालाई सरल बनाउनुपर्नेमा जोड दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)को सहकार्यमा भक्तपुरमा आयोजित कार्यशालामा सहभागी विज्ञहरूले वैदेशिक रोजगार प्रक्रियालाई सरल बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरूले मागपत्र प्रमाणीकरण, श्रम स्वीकृति, ठगी नियन्त्रण जस्ता विषयमा व्यवहारिक जटिलता रहेको र वैदेशिक रोजगारमा जाने कामदारमा उचित प्रक्रियाको जानकारी अभावले असन्तुष्टिका पक्षहरू समाधान नभएको बताए ।

कार्यशालामा श्रम मन्त्रालयका सहसचिव पिताम्बर घिमिरेले नेपाल सरकारले अघि बढाएको आप्रवासन नीति, कार्यान्वयन र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगार प्रशासनलाई छिटो, छरितो र सरल बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताए । रेमिट्यान्स आप्रवाह र वैदेशिक रोजगारमा जाने कामदारको संख्यामा भएको वृद्धिले आप्रवासन संस्कृतिका रूपमा विस्तार भएको बताउँदै वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन दबाब रहेको बताए ।

श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदीले नेपालको संविधानमा रहेको रोजगारको हक तथा आप्रवासन नीति सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै सकेसम्म वैदेशिक रोजगारमा जाने कामदार तथा उनीहरूका परिवारको हित संरक्षणमा काम भइरहेको बताए ।

उनले पूर्वप्रस्थान अभिमुखीकरण तालिमको प्रभावकारिता बढाउने विषयमा मन्त्रालय स्पष्ट रहेको जानकारी गराए । साथै, ऐन–कानुन कार्यान्वयनमा व्यवहारिक जटिलता र दोहोरोपनले कार्यान्वयन पक्ष प्रभावकारी हुन नसकेको भन्दै विभिन्न क्षेत्रबाट आउने गुनासाहरूलाई सम्बोधन गरिने पनि बताए ।

जनसंख्याविद् प्रा.डा. योगेन्द्रबहादुर गुरुङले नेपालको जनगणनाको प्रक्रिया, आप्रवासनमा रहेका कामदारको अवस्था तथा लैंगिक र क्षेत्रगत अवस्थाबारे जानकारी दिए । उनले वैदेशिक रोजगारको आम्दानी तथा अन्य कारणको प्रभावले मध्यपहाडी क्षेत्रमा तीव्र सहरीकरण भएको बताए ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महिला कामदारको अवस्था, सामाजिक सोच तथा अन्य कारणले आप्रवासनसम्बन्धी समाचार लेखन र शैलीमा संवेदनशीलता अपनाउनुपर्ने बताइन् ।

कार्यशालामा ‘आइओएम रिजनल अफिस एसिया एन्ड प्यासिफिक’ थाइल्यान्डका प्रतिनिधि मिको अलाजले एसियाको आप्रवासन प्रवृत्तिबारे भर्चुअल माध्यमबाट जानकारी दिए । उनले पीडित पक्षको संवेदनशीलता बुझेर समाचार सम्प्रेषण गरिनुपर्नेमा जोड दिए । अर्का प्रतिनिधि डा. यु यिप चिङ्ग (एनि)ले आप्रवासन निरन्तर प्रक्रिया भएको बताइन् ।

कार्यक्रममा फ्रि भिसा फ्रि टिकटको अव्यवहारिक कार्यान्वयनले पारिरहेको समस्या, महिला कामदारको श्रम स्वीकृतिमा रहेको संवेदनहीनता, सीप तालिम तथा अभिमुखीकरण तालिममा मन्त्रालयले छिटोछिटो गर्ने निर्णयले अपरिपक्वता देखाएको लगायतका विषयमा सहभागी पत्रकारहरूले श्रम मन्त्रालयका प्रतिनिधिको ध्यानाकर्षण गराए ।

आइओएम प्रस्तोता अशोक राईले डाटा सुरक्षा र गोपनीयता तथा जनकराज भट्टले सञ्चारमाध्यममा आप्रवासनसम्बन्धी समाचार सम्प्रेषणमा अपनाउनुपर्ने जातीय तथा लैंगिक संवेदनशीलताबारे कार्यपत्र प्रस्तुत गरे ।

आइओएमका आप्रवासन तथा विकास विभाग प्रमुख प्रज्वल शर्माले नेपाली सञ्चार जगत्लाई सशक्त बनाई श्रम आप्रवासन तथा उद्धारका क्षेत्रलाई प्रभावकारी बनाउन चाहेको बताए ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka