इजरायल केयरगिभरका लागि फारम भर्नेहरूको डकुमेन्ट भेरिफाइ हुँदै
काठमाडौं– इजरायलको दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि आवेदन दिएका उम्मेदवारहरूको कागजात (डकुमेन्ट) प्रमाणीकरण प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ। वैदेशिक रोजगार विभागले भाषा परीक्षा उत्तीर्ण उम्मेदवारहरूको आवेदन र आवश्यक कागजात परीक्षण गरिरहेको जनाएको छ।
क्याम्ब्रिज अपस्किल अंग्रेजी भाषा परीक्षामा सहभागी १५ हजार ६ सय २६ जनामध्ये १ हजार २ सय ३१ जना उत्तीर्ण भएका थिए। तीमध्ये आवेदन दिएका उम्मेदवारहरूको शैक्षिक योग्यता, तालिम, अनुभव तथा अन्य आवश्यक कागजातको भेरिफिकेसन भइरहेको विभागका अधिकारीहरूले बताएका छन्।
असार ७ गतेसम्म आवेदन दिएका २ हजार ६ उम्मेदवारमध्ये करिब १ हजार २ सय ३० जना योग्य देखिन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। इजरायलले योग्य उम्मेदवारलाई छिट्टै माग गर्ने संकेत गरेपछि विभागले डकुमेन्ट परीक्षणको कामलाई तीव्रता दिएको हो।
नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार २ हजार ३ सय नेपाली कामदारको माग गरिएको छ। हाल भाषा परीक्षा उत्तीर्ण उम्मेदवारलाई प्राथमिकतामा राखी पठाउने तयारी भइरहेको छ भने बाँकी माग संख्याबारे निर्णय हुन बाँकी रहेको विभागले जनाएको छ।