फ्रि भिसामा ठग्नेहरूलाई प्रहरीको उन्मुक्ति
काठमाडौं । मलेसियामा शून्य लागत (इम्प्लोई पे) मोडलअन्तर्गत कामदार पठाउने प्रक्रियामा ठगीको प्रयास भएको भन्दै एक म्यानपावर कम्पनीले प्रहरीको असहयोगप्रति गम्भीर असन्तुष्टि जनाएको छ।
मलेसियाको प्रिमियम साउन्ड सोलुसन्स एसडिएन बिएचडीले फ्युजन इन्टरनेसनल प्रालिमार्फत १५ जना नेपाली पुरुष कामदार निःशुल्क रूपमा लैजान डिमान्ड दिएको थियो। तर, सोही डिमान्डलाई आधार बनाएर केही व्यक्तिले प्रतिव्यक्ति २ लाख ३० हजार रुपैयाँ उठाउने योजना बनाएको खुलासा भएको छ।
फ्युजन इन्टरनेसनलका सञ्चालक तथा वैदेशिक रोजगार व्यवसायी कुमुद खनालका अनुसार सिरहाका सुजितकुमार यादव र सन्जीवकुमार मतराले पाँच जना कामदारबाट अग्रिम रकम असुल्ने तयारी गरेका थिए। जानकारी पाएपछि कम्पनीले वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधि, सञ्चारकर्मी र स्थानीय प्रहरीको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिन प्रयास गरेको थियो।
तर, घटनास्थलमा पुगेको प्रहरीले यो विषय वैदेशिक रोजगार विभागको कार्यक्षेत्रभित्र पर्ने भन्दै तत्काल कारबाही गर्न अस्वीकार गरेको आरोप खनालले लगाएका छन्। उनका अनुसार ठगीको स्पष्ट संकेत हुँदाहुँदै पनि शंकास्पद व्यक्तिहरूलाई पक्राउ नगरिनु दुःखद र आश्चर्यजनक हो।
फ्युजन इन्टरनेसनलले मलेसियाको उक्त रोजगारीका लागि कुनै पनि भर्ना शुल्क नलिने र एजेन्ट वा बिचौलियाको प्रयोग नगर्ने नीति अपनाएको जनाएको छ। कम्पनीले यस प्रकारका ठगी घटनाले शून्य लागत तथा नैतिक भर्ना प्रक्रियालाई चुनौती दिएको बताएको छ।
सञ्चालक खनालले घटनाबारे वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यलाई जानकारी गराउने तयारी रहेको जनाउँदै अन्य म्यानपावर कम्पनीको नाममा समेत यस्तै ठगी भइरहेको सूचना प्राप्त भएको बताए।