यान्बुमा महावाणिज्य दूतावास जेद्दाको घुम्ती शिविर सम्पन्न
साउदी अरबको यान्बुमा नेपाली महावाणिज्य दूतावास, जेद्दाले पासपोर्ट नवीकरण, वितरण, श्रमिक सचेतना तथा समस्या समाधानसम्बन्धी एक दिने घुम्ती शिविर सम्पन्न गरेको छ।
नेपाली सेवा समिति, यान्बुको सहजीकरणमा आयोजित कार्यक्रममा दूतावास प्रमुख पारस पण्डितले नेपाली श्रमिकहरूका समस्या, समाधानका उपाय तथा सचेतनामूलक जानकारी प्रस्तुत गरे। समितिका कार्यवाहक अध्यक्ष धनबहादुर गुरुङले आगामी दिनमा पनि यस्ता शिविर निरन्तर गर्न आग्रह गर्दै दूतावास टोली र स्वयंसेवकलाई धन्यवाद ज्ञापन गरे।
शिविरमा सहभागीहरूले दूतावाससम्म पुग्न समय र खर्च दुवै लाग्ने भएकाले आफ्नै क्षेत्रमा सेवा पाउँदा सहज भएको प्रतिक्रिया दिए। कार्यक्रममा यान्बु, रबिक, मदिना, अल वाज, दुबा, रेड सीलगायत विभिन्न क्षेत्रबाट आएका १६१ जनाले पासपोर्ट नवीकरणका लागि लाइभ इन्रोलमेन्ट आवेदन दिएका थिए।
यस अवसरमा नव–नियुक्त महावाणिज्य दूतावास प्रमुख सुरेश पण्डितलाई पुष्पगुच्छा र दोसल्ला ओढाएर स्वागत गरिएको थियो। कार्यक्रममा महावाणिज्य दूतावास प्रमुख पारस पण्डित, दूत शुभास यादव, राजु बास्कोटा, सुरेश पण्डित, सुमन वाग्ले लगायतको उपस्थिति रहेको थियो।