समाचार

आकर्षक रोजगारीको प्रलोभनमा पर्यटक भिसामा कम्बोडिया नजान दूतावासको आग्रह


Logo
Prawash Tv
२४ वैशाख, २०८३
आकर्षक रोजगारीको प्रलोभनमा पर्यटक भिसामा कम्बोडिया नजान दूतावासको आग्रह

थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासले उच्च तलब र आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडियालगायत देशमा रोजगारीका लागि नजान नेपाली नागरिकलाई आग्रह गरेको छ।

दूतावासका अनुसार कम्बोडिया सरकारले अन्तरदेशीय अपराधका रूपमा फैलिएको अनलाइन स्क्यामिङ नियन्त्रण गर्न कडा कानुनी अभियान सुरु गरेको छ। त्यसका कारण अवैध रूपमा बसिरहेका तथा स्क्यामिङ सेन्टरमा संलग्न विदेशी नागरिकमाथि व्यापक कारबाही भइरहेको बताइएको छ।

राजदूतावासले कम्बोडियामा भिसा अवधि सकिएपछि पनि बसिरहेका नेपालीहरूलाई तत्काल सुरक्षित रूपमा देश छाड्न आग्रह गरेको छ। नयाँ कानुनअनुसार अनलाइन स्क्यामिङमा संलग्न पाइए पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कारावाससम्म सजाय हुन सक्ने व्यवस्था गरिएको छ।

दूतावासले विशेषगरी पर्यटक भिसामा कम्बोडिया पुगेपछि धेरै नेपाली अवैध रूपमा त्यहाँ बसिरहेको र केही अनलाइन ठगी केन्द्रमा काम गरिरहेको सूचना प्राप्त भएको जनाएको छ। कम्बोडिया सरकारले यस्ता स्क्यामिङ सेन्टर बन्द गर्ने, संलग्न व्यक्तिलाई पक्राउ गर्ने तथा नेटवर्क ध्वस्त पार्ने अभियान तीव्र बनाएको छ।

नेपाली दूतावासले कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन र यदि त्यस्तो कार्यमा आबद्ध भए तुरुन्त बन्द गरी नेपाल फर्किन आग्रह गरेको छ। साथै वैदेशिक रोजगारीका लागि विदेश जानुअघि वैदेशिक रोजगार विभाग तथा सम्बन्धित देशस्थित नेपाली दूतावासबाट रोजगारदाता कम्पनीको आधिकारिकता बुझेर मात्रै श्रम स्वीकृति लिन पनि अनुरोध गरिएको छ।

समस्यामा परेका नेपालीलाई उद्धार तथा स्वदेश फिर्ता गर्न दूतावासले कम्बोडियामा रहेका नेपालीहरूको विवरण संकलन गरिरहेको जनाएको छ। त्यसका लागि अनलाइन फाराम भरेर सम्पर्कमा रहन आग्रह गरिएको छ।

दूतावासले परिवारका सदस्य, आफन्त वा साथीमध्ये कोही कम्बोडियामा श्रम स्वीकृतिबिना लामो समयदेखि बसिरहेको वा अप्ठ्यारो अवस्थामा रहेको जानकारी भए नेपाली दूतावास बैंकक वा परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागलाई जानकारी दिन आग्रह गरेको छ।

सुरक्षाकर्मीहरूका अनुसार कम्बोडियाका नोम पेन्ह, सिहानोकभिल र ओ स्म्याचजस्ता क्षेत्रमा सञ्चालित स्क्याम सेन्टरहरूमा नेपालीसहित हजारौं आप्रवासीलाई जबर्जस्ती अनलाइन ठगीमा प्रयोग गरिएको छ। यस्ता केन्द्रहरूमा राहदानी जफत गर्ने, मानसिक दबाब दिने तथा बिना तलब काम गराउने जस्ता गतिविधि भइरहेको बताइएको छ।

यस वर्ष मात्रै कम्बोडियामा स्क्यामिङ नेटवर्कविरुद्ध सयौं अपरेशन सञ्चालन भए पनि अन्तर्राष्ट्रिय ठगी सञ्जाल पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka