संघको विवाद समाधान गर्न पूर्वअध्यक्षहरू सक्रिय
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (म्यानपावर व्यवसायीहरूको छाता संगठन) भित्र पछिल्लो समय देखिएको असमझदारी र आन्तरिक विवाद अन्त्य गर्न संघका पूर्वअध्यक्षहरू सक्रिय रूपमा जुटेका छन्। वैदेशिक रोजगार क्षेत्र नै विभिन्न चुनौती र संकटबाट गुज्रिरहेको वर्तमान अवस्थामा संगठनलाई एकताबद्ध, प्रभावकारी र सशक्त बनाउनु आवश्यक रहेको निष्कर्षसहित उनीहरूले पहल थालेका हुन्।
पूर्वअध्यक्षहरू प्रेमबहादुर कटुवाल, रोहन गुरुङलगायतले संघभित्र देखिएको विवाद समाधान गर्न दुवै पक्षसँग निरन्तर छलफल गरिरहेका छन्। उनीहरूले अध्यक्ष भुवनसिंह गुरुङ तथा असन्तुष्ट पक्षबीच उत्पन्न मतभेदलाई समन्वय गर्दै संगठनमा स्थायित्व कायम गर्न प्रयासरत रहेको बताएका छन्।
पूर्वअध्यक्ष रोहन गुरुङका अनुसार, अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका प्रथम उपाध्यक्षसहित अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको धारणा र गुनासोहरू सुन्ने तथा अध्यक्ष पक्षको भनाइ बुझ्ने काम एकसाथ भइरहेको छ। दुवै पक्षबीचको संवादमार्फत समाधान खोज्ने प्रयास सकारात्मक दिशामा अघि बढेको उनले बताए।
छलफलका क्रममा अध्यक्ष भुवनसिंह गुरुङले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पार्दै, हालै गरिएको सल्लाहकार हटाउने निर्णय पुनर्विचार गर्न तयार रहेको बताएका छन्। उनले संगठनलाई मिलाएर लैजान आफू प्रतिबद्ध रहेको जनाएका छन्। साथै, कार्यसमिति यथावत् राख्दै अध्यक्षको संयोजकत्वमा र पूर्वअध्यक्षहरू सहसंयोजक रहने गरी ‘स्टेरिङ कमिटी’ गठन गर्ने प्रस्तावमा समेत सहमति नजिक पुगेको जानकारी दिइएको छ।
उता, अध्यक्ष गुरुङले गत सोमबार असन्तुष्ट पक्षले सामूहिक रूपमा दिएको राजीनामा संघको विधानअनुसार अस्वीकृत गरिएको बताएका छन्। उनले पदाधिकारीहरूलाई पुनः आफ्नो जिम्मेवारीमा फर्केर काम गर्न आग्रह गर्दै भने, “संघको दुईवर्षे कार्यकालमध्ये एक वर्ष बितिसकेको छ। बाँकी छोटो अवधिमा सबै मिलेर अघि बढ्न आवश्यक छ, त्यसैले सबैलाई सहकार्यका लागि अनुरोध गरेको छु।”
यसैबीच, बुधबार बिहान पूर्वअध्यक्षहरू तथा विभिन्न घटक संस्थाका प्रतिनिधिहरूबीच भएको बैठकमा पनि महत्वपूर्ण सहमति बनेको छ। उक्त छलफलमा संघको नेतृत्वमा सम्बन्धित सरकारी तथा सरोकारवाला निकायहरूमा डेलिगेसन जाने, वैदेशिक रोजगार क्षेत्रका समस्याहरूबारे ध्यानाकर्षण गराउने र व्यावहारिक समाधान खोज्ने विषयमा एकमत भएको अध्यक्ष गुरुङले बताएका छन्। उनले संघलाई अझ प्रभावकारी, जिम्मेवार र व्यवसायीमैत्री बनाउने दिशामा सबै पक्ष मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
विवादको जरो भने अध्यक्षले सल्लाहकारद्वय नवराज केसी र धनलाल जैसीलाई पदमुक्त गरेपछि सुरु भएको थियो। उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिम्दोङ, कोषाध्यक्ष धनमाया सिञ्जाली तथा कार्यसमिति सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले सामूहिक रूपमा राजीनामा दिएका थिए।
यस विषयलाई लिएर संघभित्र विवाद चर्किएपछि प्रशासनिक तहसम्म पनि कुरा पुगेको छ। अध्यक्ष गुरुङले बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लिखित जवाफ पेश गरेका छन्। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले संघको विधान झिकाएर विवादका विषयमा विस्तृत अध्ययन भइरहेको जानकारी दिएका छन्। उनले आवश्यक परे थप कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने संकेत पनि गरेका छन्।
समग्रमा, संघभित्र देखिएको विवाद समाधानतर्फ उन्मुख देखिए पनि अन्तिम सहमति हुन बाँकी नै छ। पूर्वअध्यक्षहरूको सक्रियता, दुवै पक्षबीचको संवाद र सहमतिका प्रयासले आगामी दिनमा संगठन पुनः एकताबद्ध हुने अपेक्षा गरिएको छ। वैदेशिक रोजगार क्षेत्रका व्यवसायीहरूको साझा हितका लागि संगठनभित्रको एकता अपरिहार्य भएकाले सबै पक्षले लचिलोपन देखाउँदै सहकार्य गर्नुपर्ने आवश्यकता झनै स्पष्ट भएको छ।