साउनमा ७० हजार बढी नेपाली वैदेशिक रोजगारीमा
साउन महिनामा करिब ४२ हजार नेपालीले पहिलोपटक वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको मासिक प्रगति विवरणअनुसार सो महिनामा कुल ७० हजार ४ सय ४१ जनाले विभिन्न प्रकारका श्रम स्वीकृति लिएका हुन्, जसमा नयाँ श्रमिकको संख्या ४१ हजार ८ सय ८९ रहेको छ।
नयाँ श्रमिकमध्ये २९ हजार ४ सय ४७ जनाले म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन् भने १२ हजार ४ सय ४२ जनाले व्यक्तिगत रूपमा प्रक्रिया पूरा गरेका छन्।
विभागका अनुसार म्यानपावरमार्फत सबैभन्दा धेरै श्रमिक युएई गएका छन्, जहाँ ९ हजार ३ सय ७५ जना पुगेका छन्। त्यसपछि मलेसियामा ९ हजार १ सय ७०, साउदी अरेबियामा ३ हजार ७ सय ६९, कुवेतमा २ हजार ५ सय ५, कतारमा १ हजार ८ सय २५, साइप्रसमा ८ सय ६४, ओमानमा ८ सय ७, बहराइनमा ३ सय ७, माल्दिभ्स र जोर्डनमा समान २ सय ४२–२ सय ४२, जापानमा २ सय ३७, मौरिससमा ९५, मकाउमा ८ र हङकङमा १ जना गएका छन्।
यस अवधिमा २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। त्यस्तै, ‘जिटुजी’ प्रणालीअन्तर्गत दक्षिण कोरिया र इजरायलका लागि ७ सय १२ जनालाई श्रम स्वीकृति प्रदान गरिएको छ।
समग्र तथ्यांक हेर्दा साउनमा युएई सबैभन्दा ठूलो श्रम गन्तव्य बनेको छ, जहाँ १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि मलेसियामा १२ हजार ४ सय ९८, कतारमा १० हजार ३ सय ६० र साउदी अरेबियामा ८ हजार ६ सय १३ जना रहेका छन्।
व्यवसायीहरूका अनुसार युरोपेली मुलुकहरूमा मागपत्र प्रमाणीकरण प्रक्रिया सहज नहुँदा नेपाली श्रमिक अझै खाडी मुलुक र मलेसियामा निर्भर हुन बाध्य छन्। उनीहरूले कम तलब र जोखिमयुक्त गन्तव्यबाट विकल्प खोज्न सरकारले ठोस पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।