समाचार

दक्षिण कोरिया अध्ययनका लागि एनओसी तत्काल खुलाउन विद्यार्थीहरूको माग, भोलि सानोठिमीमा धर्ना


Logo
Prawash Tv
२२ जेठ, २०८२
दक्षिण कोरिया अध्ययनका लागि एनओसी तत्काल खुलाउन विद्यार्थीहरूको माग, भोलि सानोठिमीमा धर्ना

काठमाडौँ, जेठ २२, २०८२ - दक्षिण कोरियामा अध्ययनका लागि आवश्यक अनुमति पत्र (एनओसी) तत्काल खुलाउनुपर्ने माग राख्दै विद्यार्थीहरूले भोलि जेठ २३ गते शुक्रबार बिहान ९:३० बजे भक्तपुरको सानोठिमीस्थित एनओसी कार्यालय अगाडि धर्ना कार्यक्रम आयोजना गर्ने भएका छन्।

विगतका दिनहरूमा विद्यार्थीहरूले दक्षिण कोरियामा अध्ययन गर्न पाउनु आफ्नो मौलिक अधिकार भएको भन्दै विभिन्न निकायमा ज्ञापनपत्र बुझाउँदै आएका छन्। साथै, नारा-जुलुस, धर्ना जस्ता कार्यक्रमहरू मार्फत आफ्ना मागहरू राख्दै आएका छन्। विशेषगरी सेप्टेम्बर इन्टेकका लागि आवेदन दिएका र कोरियाली विश्वविद्यालयहरूको शुल्कसमेत बुझाइसकेका विद्यार्थीहरू एनओसी बन्द हुँदा मारमा परेका छन्।

सुनसरीका सुमन अधिकारीले प्रवास टीभीसँग कुरा गर्दै भने, "हामीले कोरियाली विश्वविद्यालयको शुल्क तिरिसकेका छौँ। एनओसी बन्द हुँदा कोरिया अध्ययन गर्ने अवसर गुम्ने र अन्य देशका लागि पनि शैक्षिक ग्याप बढ्ने भएकाले हाम्रो वैदेशिक अध्ययनको सपना चकनाचुर हुने खतरा छ। जसरी भए पनि एनओसी खुलाउनैपर्छ, किनभने शिक्षा हाम्रो अधिकार हो।"

सर्वोच्च अदालतले सरकारको एनओसी रोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा विद्यार्थीहरूलाई अनुमति रोक्ने निर्णयले अपूरणीय क्षति पुग्ने ठहर गरेको छ। आदेशमा भनिएको छ, "शैक्षिक सत्र प्रारम्भ भइसकेको अवस्थालाई बेवास्ता गरी दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई अनुमति दिने कार्य स्थगित गर्ने मन्त्रालयको मिति २०८२/१/२८ को निर्णय र सोही आधारमा प्रकाशित मिति २०८२/१/३० को सूचना तत्काल कार्यान्वयन नगर्नू।"

यद्यपि, अदालतको आदेश आएको केही समय बितिसक्दा पनि एनओसी खुल्ने प्रक्रिया अघि बढेको छैन। सम्पूर्ण प्रक्रिया पूरा गरी छात्रवृत्तिसमेत प्राप्त गरिसकेका विद्यार्थीहरूलाई यो निर्णयले ठूलो असर पारेको छ।

विद्यार्थीहरूले सामाजिक सञ्जालमार्फत सेप्टेम्बर इन्टेकमा आवेदन दिएका सबैलाई धर्ना कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्। उनीहरूले आन्दोलन शान्तिपूर्ण हुने प्रतिबद्धता व्यक्त गरेका छन्।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka