वैदेशिक रोजगारलाई सुधार्ने रास्वपाका ७ योजना
वैदेशिक रोजगार सुधार्ने रास्वपाका सात योजना
काठमाडौं : यसपटकको प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ नजिकको मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनपछि मुलुकका सबै क्षेत्रमा सुधार ल्याउने तयारीमा छ। विशेष रूपमा वैदेशिक रोजगार क्षेत्रमा रास्वपा के–के सुधार ल्याउने हो भन्ने प्रश्न आम जिज्ञासाको विषय बनेको छ।
शुक्रबार पदभार सम्हालेका नवनिर्वाचित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले सीप र तालिममा जोड दिने बताए। उनका अनुसार, सीप र तालिमले स्वदेशमै रोजगारी सिर्जना गर्नेदेखि वैदेशिक रोजगारमा जाने कामदारसम्म लाभ पुग्नेछ।
रास्वपाले वैदेशिक रोजगार क्षेत्रमा मुख्यतः सात प्राथमिक सुधार गर्ने योजना सार्वजनिक गरेको छ:
कम्पनी पारदर्शिता र जवाफदेहिता – वैदेशिक रोजगार कम्पनीहरूलाई पारदर्शी, नियमसम्मत र पूर्ण जवाफदेही बनाइने।
ठगी र अत्यधिक शुल्क रोकथाम – झुटा करार, अत्यधिक शुल्क असुली र ठगी गर्ने प्रवृत्तिमाथि कडा कारबाही।
विशेष परिचयपत्र जारी – श्रमिकहरूको योगदानको सम्मानमा विशेष परिचयपत्र, जसले सरकारी स्वास्थ्य सेवा, शिक्षा र अन्य सामाजिक सेवामा सहुलियत उपलब्ध गराउने।
दलित तथा उत्पीडित समुदायका लागि सहुलियत – वैदेशिक रोजगारमा जान इच्छुक परिवारका सदस्यलाई स्थानीय तहको सिफारिस वा बैंकमार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउने।
स्वदेशमा उद्यम र प्राविधिक सहयोग – विदेशबाट सीप र अनुभव प्राप्त गरेका कामदारलाई ब्याजमा विशेष अनुदान, प्राविधिक सहयोग र बजार पहुँच कार्यक्रम मार्फत उद्यम सञ्चालनको प्रोत्साहन।
स्रोतसम्पन्न दूतावास र सामाजिक सुरक्षा – शोषण रोकथाम र पुनःएकीकरण प्याकेजमार्फत वैदेशिक कामदारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने। साथै आउँदा निर्वाचनमा ‘अनलाइन’ वा दूतावासमार्फत मतदानको अधिकार सुनिश्चित।
गैरआवासीय नेपालीको योगदान र सम्पत्ति अधिकार – प्रवासमा रहेका नेपाली विज्ञको ज्ञान, सीप र अनुभव नीति निर्माणमा जोड्ने, ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भावनालाई सम्मान गर्ने, र प्रशासनिक झन्झट हटाउँदै सम्पत्तिको अधिकार सुनिश्चित गर्ने।
रास्वपाले वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र उनका परिवारको हित संरक्षण गर्दै उनीहरूको योगदानलाई सम्मान गर्ने स्पष्ट प्रतिबद्धता सार्वजनिक गरेको छ।