सीपयुक्त वैदेशिक रोजगारीको अवस्था: अपेक्षा अनुसार सुधार हुन सकेन
काठमाडौं — नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरू सीप सिकेर जाने प्रवृत्तिमा अझै अपेक्षित सुधार आउन सकेको छैन। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार अघिल्लो वर्षको भदौ महिनाको तुलनामा यस वर्षको भदौमा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूको सीपको स्थितिमा खासै ठूलो परिवर्तन देखिँदैन।
तथ्यांकमा सीप र अदक्षताको स्थिति वैदेशिक रोजगार विभागका अनुसार अघिल्ला र यस वर्षको भदौ महिनाको तुलनात्मक विवरण निम्न अनुसार छ:
अदक्ष श्रमिक: गत वर्षको भदौमा कुल ६७,९७२ जना वैदेशिक रोजगारीमा जाँदा १९,१३५ जना (२८.१५%) अदक्ष थिए। यस वर्षको भदौमा कुल ६०,०४२ जना जाँदा १६,०५८ जना (२६.७४%) अदक्ष श्रमिक रहेका छन्।
सीपयुक्त श्रमिक: गत वर्षको भदौमा ३७,०७० जना (५४.५३%) सीपयुक्त श्रमिक विदेशिएका थिए भने यस वर्षको भदौमा ३४,१६७ जना (५६.९०%) सीपयुक्त श्रमिक वैदेशिक रोजगारीमा गएका छन्।
गत भदौको तथ्यांक अनुसार उच्चदक्ष (१३ महिलासहित ८० जना), व्यावसायिक सीप भएका (५२ महिलासहित २७१ जना), र अर्धदक्ष (९४९ महिलासहित ९,४६६ जना) श्रमिक वैदेशिक रोजगारीमा गएका छन्।

बिनासीप विदेशिनुका प्रमुख कारणहरू १. व्यावसायिक शिक्षाको अभाव: वैदेशिक रोजगारीमा जाने युवायुवतीहरूसम्म प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच नपुग्नु। २. व्यावहारिक तालिमको कमी: सञ्चालित तालिमहरू बजारको माग अनुसार अनुकूल वा बजारमुखी नहुनु। ३. अदक्ष कामदारको बढी माग: मलेसिया र खाडी मुलुकहरूबाट निर्माण तथा अन्य क्षेत्रमा धेरैजसो अदक्ष कामदारकै माग आउनु। ४. आर्थिक बाध्यता: पारिवारिक आर्थिक समस्या टार्न छोटो प्रक्रियाबाट बिनासीप विदेश जानुपर्ने बाध्यता हुनु।
अदक्ष र कम सीपयुक्त श्रमिकले भोग्नुपरेका समस्याहरू
पारिश्रमिक र सेवा सुविधामा विभेद: सम्झौता अनुसारको तलब नपाउनु, समयमा भुक्तानी नहुनु वा विनाकारण तलब कट्टा गरिनु।
जोखिमपूर्ण काम (3D Jobs): फोहोर, खतरनाक र अपमानजनक (Dirty, Dangerous, Demeanining) काममा लाग्नुपर्ने र दुर्घटनाको उच्च जोखिम रहनु।
दयनीय जीवनशैली: कोचाकोच गरेर बस्नुपर्ने, स्वस्थकर खाना र सफा पानीको अभाव हुनुका साथै बिरामी पर्दा उचित उपचार नपाउनु।
कानुनी र स्वतन्त्रता सम्बन्धी समस्या: रोजगारदाता वा एजेन्टले पासपोर्ट नियन्त्रणमा लिँदा इच्छाअनुसार काम छाड्न वा स्वदेश फर्कन नपाउनु। भिसा नवीकरण नगरिदिँदा अवैधानिक भई पक्राउ पर्ने वा जेल जानुपर्ने जोखिम हुनु।