युएई जाने नेपाली श्रमिकको प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरण शुल्क आधाले घट्ने
काठमाडौं — नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलपछि संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली श्रमिकहरूले प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरण (Attestation) गर्दा लाग्दै आएको शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन्। आगामी अक्टोबर २०२६ देखि लागू हुने गरी यो शुल्क आधा घट्ने भएको हो।
संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपालस्थित युएईका राजदूतसँग गरेको छलफलपछि राजदूतावासबाट यो जानकारी प्राप्त भएको हो।
भेटघाटका प्रमुख निर्णय तथा प्रतिबद्धताहरू:
शुल्कमा ५० प्रतिशत छुट: जेनजी आन्दोलनपछि नेपाल प्रहरीले जारी गरेको चालचलन रिपोर्ट प्रमाणीकरणका लागि हाल ३५३ दिराम (करिब १४ हजार रुपैयाँ) लाग्दै आएकोमा अक्टोबरदेखि सो शुल्कमा ५० प्रतिशत छुट दिइनेछ।
छिटो प्रमाणीकरण: प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरणको समयावधि घटाई अब ३ कार्यदिनभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाइएको छ।
भ्रमण भिसामा खारेजीको प्रतिबद्धता: निकट भविष्यमा भ्रमण तथा व्यावसायिक भिसामा युएई जाने नेपालीहरूका लागि प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरण गर्नैनपर्ने व्यवस्था मिलाउने प्रतिबद्धता राजदूतले व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन: युएईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सुरु गरिसकेको र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि छिट्टै उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
श्रमिकलाई राहतको अपेक्षा
पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा आएसँगै न्यून हवाई शुल्कका कारण विगतमा भारत हुँदै वैदेशिक रोजगारीमा जान बाध्य नेपाली श्रमिकहरूले राहत पाउने अपेक्षा गरिएको छ। संघका महासचिव हिराबहादुर डाँगी (हरि) ले व्यवसायी तथा श्रमिकका समस्या समाधानका लागि कूटनीतिक नियोगहरूसँग निरन्तर समन्वय भइरहेको बताएका छन्।
भेटघाट प्रतिनिधिमण्डलमा संघका प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष अनिल बोगटी, तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल, महासचिव डाँगी र कोषाध्यक्ष धनु सिंजाली सहभागी थिए।