निःशुल्क र बेनामी वाइफाइ नेटवर्क प्रयोग नगर्न आग्रह
कुवेतले विमानस्थलमा उपलब्ध निःशुल्क र बेनामी वाइफाइ नेटवर्कहरूको प्रयोग नगर्न यात्रुहरूलाई सचेत गराएको छ। सेप्टेम्बर महिनामा ठूलो संख्यामा नागरिक तथा विदेशी कामदारहरू कुवेत प्रवेश गर्ने भएकाले सो समयमा यो जोखिम अझ बढ्ने अनुमान गरिएको छ।
साइबर सुरक्षा तथा सूचना प्रविधि विशेषज्ञहरूको भनाइ अनुसार अन्तर्राष्ट्रिय विमानस्थलहरूमा पाइने यस्ता वाइफाइ नेटवर्कहरूले प्रयोगकर्ताको स्मार्ट उपकरण ह्याक हुने सम्भावना उच्च हुन्छ। स्थानीय अल–सेयासाह दैनिकमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा समेत कुवेत जाने यात्रुहरूले विमानस्थलमा सामना गर्नुपर्ने प्रमुख जोखिममध्ये निःशुल्क र बेनामी वाइफाइ नेटवर्क प्रमुख भएको उल्लेख गरिएको छ।
विशेषज्ञहरूले यस्ता नेटवर्कमार्फत यात्रुको व्यक्तिगत डेटा चोरी हुने र स्मार्ट उपकरणमा सुरक्षित व्यक्तिगत जानकारी समेत जफत हुन सक्ने चेतावनी दिएका छन्। अझ ठूलो संख्यामा प्रयोगकर्ताहरू एउटै नेटवर्कमा एकै समयमा जडान हुँदा जोखिम बढ्ने र करिब दुई सयजना प्रयोगकर्तासम्म एउटै नेटवर्क प्रयोग गरेमा सुरक्षा खतरा अझ गम्भीर बन्न सक्ने बताएका छन्।
कुवेत सोसाइटी फर इन्फर्मेसन टेक्नोलोजीका इलेक्ट्रोनिक मिडिया समितिका अध्यक्ष डा. अनवर अल–हर्बीका अनुसार विशेषगरी सामाजिक सञ्जालमार्फत फोटो, भिडियो वा लिङ्कहरू प्राप्त गर्नु पनि उच्च जोखिमपूर्ण हुन्छ।