समाचार

मलेसिया जान चाहने कामदार ठगिँदै, प्रति व्यक्ति ५ लाख असुली


Logo
Prawash Tv
२७ असार, २०८२
मलेसिया जान चाहने कामदार ठगिँदै, प्रति व्यक्ति ५ लाख असुली

काठमाडौं : मलेसिया जाने कामदारबाट अनुचितरूपमा रकम असुली भएको विषय संसदमा उठेको छ । प्रतिनिधि सभाकी सांसद रमा कोइरालाले रोजगारीका लागि मलेसिया जाने कामदारले ३ देखि ५ लाख रुपैयाँ तिर्नुपरेको दाबी गरेकी छन् ।

नेपालले मलेसियामा फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउने बताएपनि व्यवहारमा कामदार चर्कोद ब्याजमा ऋण लिएर वैदेशिक रोजगारमा गइरहेको उनले बताइन् ।

मलेसिया भ्रमणबाट केही दिनअघि फर्केकी सांसद कोइरालाले प्रतिनिधि सभाको सोमबारको बैठकमा उक्त मुलुकमा रहेका नेपाली कामदार र नेपाली राजदूतावासको भूमिकाबारे कुरा उठाएकी थिइन् ।

सांसद कोइरालाले भनिन्, ‘राज्यको नीति फ्रि भिसा फ्रि टिकटमा कामदार पठाउने भएपनि रोजगारीका लागि मलेसिया जाने श्रमिकले ३ देखि ५ लाख रुपैयाँसम्म तिर्नुपरिरहेको छ, यसमा राज्यले कडा अनुगमन गर्नुपर्ने देखिएको छ ।’

मलेसियामा सप्लाइ कम्पनीमार्फत जानेहरूले दुःख पाइरहेको भन्दै उनले त्यसरी पठाउने काममा नेपालका म्यानपावर कम्पनीहरू नै संलग्न रहेको र सो ठगीको जालोमा संलग्नहरूलाई राज्यले अनुगमन गरी नियन्त्रण गर्नुपर्ने धारणा राखिन् ।

सांसद कोइरालाले नेपालमा रहेका मिटरब्याजीले कामदार ठगेको सुनेको, तर मलेसियामा पनि मिटरब्याजीहरू रहेको बताइन् । उनले भनिन्, ‘त्यसलाई कसरी नियन्त्रण गर्ने हो ? ति मिटरब्याजीबाट कसरी हाम्रा श्रमिकलाई जोगाउने हो संसदमा छलफल हुनुपर्दछ ।’ मलेसियामा रहेका मिटरब्याजीले कसरी नेपाली ठगिरहेका छन् भन्ने उनले खुलाइनन् ।

उनले मलेसियामा कार्यरत सुरक्षागार्डहरू कामअनुसारको तलब नपाएर शोषणमा परेको पनि टिप्पणी गरिन् । पुरै महिनाभर दैनिक १५ घण्टा उभिएर काम गर्नुपरिरहेको भन्दै उनले भनिन्,  ‘त्यसबापत उचित ज्याला नपाएको देखियो । ३० दिन दैनिक १५ घण्टा काम गर्दा १५ सयदेखि २ हजार रिंगेट तलब पाइरहेका छन् । उनीहरूको तलब ३३ सय रिंगेटसम्म हुनुपर्ने हो । नेपाल सरकार यस विषयमा बोल्न जरुरी छ ।’

त्यसैगरी सांसद कोइरालाले स्वास्थ्य परीक्षणमा पनि समस्या रहेको दाबी गरिन् । उनले भनिन्, ‘नेपालमा नै सिन्डिकेट रहेछ, गन्तव्य मुलुकमा रोजगारी दिन नसकेपछि सप्लाइ कम्पनीले पुनः स्वास्थ्य परीक्षण गराइ जानाजान नेपाली कामदारहरू फेल बनाएर फर्काइने गरेको देखिन्छ, यसमा पनि सरकारको ध्यान जान जरुरी छ ।’

उनले नेपाली दूतावासहरूमा कर्मचारीको अभाव रहेको भन्दै दूतावासमा कर्मचारी बढाउन र कम्तीमा एक जना डाक्टर र एक जना वकिल राख्न अर्थमन्त्रीले बजेटको व्यवस्था गर्नुपर्ने माग गरिन् । त्यसो गरिएको खण्डमा धेरै नेपाली श्रमिकले त्यसबाट लाभ पाउने उनले बताइन् ।

सांसद कोइरालाले ४ लाख भन्दा बढी श्रमिक र अवैधानिकरूपमा बसिरहेका थप श्रमिक रहेपनि नेपाली दूतावासमा २१ जना कर्मचारी मात्रै रहेकाले छिटो सेवा दिन नसकेकाले निरन्तर गुनासो आउने गरेको देखिएको बताइन् ।

उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारमा जाने श्रमिकले रकम जम्मा गरी योगदान गरेपनि गन्तव्य मुलुकका रोजगारदाताले रकम जम्मा नगरिरहेको भन्दै नेपालले बार्गेनिङ पावर बढाएर रोजगारदाताहरूलाई दबाब दिनुपर्नेमा जोड दिइन् ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka