विदेशमा रहेका कामदारलाई २४सै घण्टा स्वास्थ्य परामर्श सेवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैदेशिक रोजगारमा रहेका नेपाली कामदारका लागि स्वास्थ्य परामर्श सेवा सुरु गरिएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार यो सेवा भाइबर, इमो र ह्वाट्सएपमार्फत मिर्गौला रोग तथा अन्य स्वास्थ्यसम्बन्धी परामर्श २४ सै घण्टा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले आफ्नो पदबहालीको दिन नै वैदेशिक रोजगारीका क्रममा हुने कामदारको मृत्यु दर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
डा. बुढाथोकीका अनुसार मिर्गौला रोगसम्बन्धी परामर्शका लागि ००९७७ ९७६३४९०९०० नम्बरमा भाइबर, इमो वा ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिन्छ। मिर्गौला रोगसम्बन्धी सेवाहरू सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अन्य स्वास्थ्य संस्थाबाट २४ सै घण्टा उपलब्ध हुने व्यवस्था गरिएको छ।
अन्य स्वास्थ्य सेवाका लागि ००९७७ ९८५१३४५७०१ र ००९७७ ९८५१३४५७०२ नम्बरमा भाइबर र ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। डा. बुढाथोकीका अनुसार विदेशमा धेरै नेपाली बिरामी हुने भएकाले यस्तो परामर्श सेवा सुरु गरिएको हो।
स्वास्थ्यमन्त्री शर्माले वैदेशिक रोजगारका क्रममा हुने मृत्युको संख्या धेरै रहेको भन्दै त्यसलाई घटाउन वैदेशिक रोजगार अघि गरिने स्वास्थ्य परीक्षण र पर्याप्त स्वास्थ्य सूचना तथा जानकारी आवश्यक हुनेमा जोड दिएकी छन्। विशेष गरी जोखिमपूर्ण कार्यस्थलमा काम गर्दा वा अत्यधिक तातो मौसममा काम गर्दा कम उमेरका कामदारको मृत्यु बढ्ने भएकाले उनीहरूले अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सूचना डेस्क स्थापना तथा टेलिमेडिसिन सेवा सम्बन्धी काम गर्ने बताएकी छन्।
विदेशस्थित नेपाली दूतावास र नियोगहरूले पनि नेपाली कामदारको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न स्थानीय अस्पतालहरूसँग सहकार्य मजबुत बनाउनुपर्ने भए पनि जनशक्तिको अभावका कारण धेरै दूतावास सक्रिय हुन सकेका छैनन्।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको मृत्युको संख्या अस्वाभाविक रूपमा बढेपछि करिब पाँच वर्षअघि स्वास्थ्य सहचारी राख्नुपर्ने सुझाव आएको भए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन।
डा. बुढाथोकीका अनुसार विदेश जाने क्रममा श्रमिकलाई आवश्यक स्वास्थ्य जानकारी दिने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न स्थानमा सचेतनामूलक सन्देश राखिएको छ, जसले क्रमिक रूपमा स्वास्थ्य चेतना बढाउने अपेक्षा गरिएको छ।
अस्वस्थ खानपिन र पर्याप्त पिउने पानीको अभावले नेपाली कामदारको मिर्गौला खराब हुने क्रम बढाएको छ, जसले राष्ट्रिय स्तरमै कामदारको स्वास्थ्यमा चिन्ता बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारका लागि ३१ प्रकारका स्वास्थ्य परीक्षण अनिवार्य गर्ने कार्यविधि नै जारी गरेको छ।