उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख बरामद
छिल्लो विषम परिस्थितिको अनुचित लाभ उठाउँदै लुटपाट, आगजनी र जनधनको क्षति पुर्याउने उद्देश्यले उच्छृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन्।
मङ्गलबार राति १० बजेदेखि बुधबार बिहान १० बजेसम्म देशका विभिन्न स्थानमा भएका विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न ती व्यक्तिहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो। सेनाले दिएको जानकारीअनुसार काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट रू. ३३ लाख ७० हजार नगद बरामद गरिएको छ।
यस्तै, काठमाडौंका विभिन्न स्थानबाट २३ थान र पोखराबाट ८ थान गरी विभिन्न प्रकारका ३१ वटा हतियार, म्यागजिन तथा गोलीगठ्ठा समेत बरामद भएको छ। सार्वजनिक तथा निजी सम्पत्तिमा प्रदर्शनकारीहरूले लगाएको आगो नियन्त्रण गर्न तीनवटा बारुणयन्त्र प्रयोग गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।