इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु
इरानले यूएईमा गरेको पछिल्लो हवाई आक्रमणमा परी तीन जनाको ज्यान गएको छ, जसमा एक नेपाली नागरिक पनि छन्। यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले अनलाइनखबरसँग भने, “हामीलाई एक जना नेपाली नागरिकको मृत्यु भएको सरकारी जानकारी प्राप्त भएको छ। हाल उनको परिचयबारे थप जानकारी सङ्कलन भइरहेको छ।”
संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदनअनुसार, आक्रमणमा नेपाल, पाकिस्तान र बंगलादेशका एक/एक जनासहित कुल तीन जना विदेशी नागरिकको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार, इरानले अहिलेसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ। यूएईको शक्तिशाली हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनलाई आकाशमै नष्ट गरेको भए पनि ३५ वटा ड्रोन विभिन्न स्थानमा खसेका थिए।
यी मध्ये २१ वटा ड्रोनले नागरिक बस्ती र संरचनालाई निशाना बनाउँदा मानवीय क्षति भएको छ।
यस आक्रमणमा नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया, पाकिस्तान र अन्य १५ देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन्। मन्त्रालयले घाइतेहरूको अवस्था स्थिर रहेको र उपचार भइरहेको जानकारी दिएको छ।