मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन संघको आग्रह
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सुरक्षा परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। महासचिव महेशकुमार बस्नेतले अपिल जारी गर्दै उक्त क्षेत्रमा बसोबास तथा कार्यरत सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। संघले सम्बन्धित देशका स्थानीय प्रशासनद्वारा जारी गरिएका सुरक्षा निर्देशिकाहरू पूर्ण रूपमा पालना गर्न र सम्भावित जोखिमप्रति सचेत रहन आह्वान गरेको छ।
साथै, संघले नेपाल सरकार, विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक समन्वय, समयोचित सूचना प्रवाह तथा आपतकालीन संयन्त्रहरू प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको छ। विभिन्न संघ–संस्थाहरूलाई पनि नेपालीहरूको हित र सुरक्षाका लागि आवश्यक पहल गर्न भनिएको छ।
वैदेशिक रोजगारको क्षेत्रमा नेपालस्थित इजाजतप्राप्त रोजगार संस्थाहरूलाई सम्बन्धित कम्पनीहरूसँग निरन्तर समन्वय गरी कामदारहरूको अवस्थाबारे नियमित जानकारी लिन र आवश्यक सहयोग उपलब्ध गराउन संघले आग्रह गरेको छ। यसैगरी, हाल केही क्षेत्रमा श्रम स्वीकृति रोकिएको छ, जसले नयाँ रोजगार प्रक्रियामा असर पुर्याउन सक्छ।
त्यसैगरी, उक्त क्षेत्रमा उडान सञ्चालन गर्ने एयरलाइन्स कम्पनीहरूलाई यात्रु तथा नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै उडान व्यवस्थापन, समयमै सूचना प्रवाह तथा आवश्यक उद्धार र सहयोगमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न संघले आह्वान गरेको छ। यस्तो विषम परिस्थितिमा नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको पनि अपिलमा उल्लेख गरिएको छ।