जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो संसदीय निर्वाचन
काठमाडौँ । सन् २०२४ मा जेन–जी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिना को सरकार पतन भएपछिको अवस्थामा बङ्गलादेश ले पहिलो पटक संसदीय निर्वाचन सम्पन्न गरेको छ। यस निर्वाचनमा करिब १२ करोड ७० लाख मतदाता सहभागी हुन योग्य रहेका छन्।
बिहीबार बिहानदेखि सुरु भएको मतदान ढाका सहित देशका विभिन्न सहरहरूमा उत्साहजनक रूपमा अघि बढेको थियो। करिब ५०० अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचन प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन निगरानी गरिरहेका छन्।
मुख्य प्रतिष्पर्धामा बिएनपीका तारिक रहमान आगामी सरकार गठनका प्रमुख दावेदारका रूपमा देखिएका छन् भने जमात–ए–इस्लामी को नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले कडा चुनौती प्रस्तुत गरेको छ। निर्वाचनसँगै राष्ट्रिय चार्टरअन्तर्गत संवैधानिक सुधारका विषयमा जनमतसङ्ग्रह पनि गरिएको छ।
पहिलो पटक मतदान गरेका २८ वर्षीय मतदाता इकराम उल हकले चुनावलाई पर्वका रूपमा लिइएको बताउँदै ठूलो परिवर्तनको आशा व्यक्त गरेका छन्। निर्वाचनको अन्तिम नतिजा शुक्रबार सार्वजनिक हुने अपेक्षा गरिएको छ, जसले बङ्गलादेशको लोकतान्त्रिक भविष्यको दिशा निर्धारण गर्ने विश्वास गरिएको छ।