समाचार

व्यवसायीद्वारा विभाग र प्रहरी कार्यालय बनाउने अभियान सुरु


Logo
Prawash Tv
०२ असोज, २०८२
व्यवसायीद्वारा विभाग र प्रहरी कार्यालय बनाउने अभियान सुरु


‘पहिले सुरक्षा, त्यसपछि व्यवसाय’ : वैदेशिक रोजगार व्यवसायी संघ र समितिबाट प्रहरी चौकी तथा विभाग पुनर्निर्माण पहल

‘पहिले सुरक्षा, त्यसपछि व्यवसाय’ भन्ने नारासहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ताहाचलस्थित वैदेशिक रोजगार विभाग र गौशाला प्रहरी चौकी निर्माणको अभियान सुरु गरेको छ। जेनजी प्रदर्शनका क्रममा भएको आगजनीमा दुवै कार्यालय पूर्ण रूपमा जलेका थिए।

संघका अध्यक्ष भुवनसिंह गुरुङका अनुसार महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुखले नयाँ भवन आवश्यक रहेको बताइएपछि संघले पहल गरेको हो। त्यसैगरी, विभाग तत्काल नबने वैदेशिक रोजगार व्यवसायी र कामदारले सेवा लिन समस्या हुने भएकाले छिट्टै मर्मतका लागि समेत पहल भइरहेको उनले बताए।

यसैबीच, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले बसपार्कस्थित प्रहरी चौकी मर्मत गर्ने भएको छ। गत भदौ २४ को आगजनीमा क्षतिग्रस्त चक्रपथ, तिलेङ्गेटार र बसपार्क प्रहरी चौकीलाई सहयोग जुटाउने निर्णय समितिले महानगरीय प्रहरी वृत्त चक्रपथसँग छलफलपछि गरेको हो।

समितिले घटस्थापनाभन्दा अघि नै बसपार्क चौकी मर्मत गरेर प्रहरीलाई हस्तान्तरण गर्ने तयारी गरेको छ। यसका लागि सोमबारदेखि लागत अनुमानसहित काम सुरु गरिएको छ। आइतबार आयोजित भेलामा समितिमा आबद्ध व्यवसायीहरूले न्यूनतम ३० हजार रुपैयाँ सहयोग गर्ने सहमति गरेका थिए। सोमबार बिहानसम्म करिब १५ लाख रुपैयाँ संकलन भइसकेको उपाध्यक्ष तारानाथ अर्यालले जानकारी दिए।

उनका अनुसार बसपार्क चौकी मर्मतपछि रकम बाँकी भए वैदेशिक रोजगार व्यवसायी संघको खातामा जम्मा गरिनेछ।

हालैको आगजनी र तोडफोडका कारण उपत्यकाका प्रहरी वृत्त, प्रभाग र चौकीहरूमा व्यापक क्षति पुगेको छ। कतिपय प्रहरी भवनमा लत्ताकपडा, झ्यालढोका, शौचालय, पिउने पानीदेखि सवारीसाधन र संचार उपकरणसम्म अभाव रहेको बताइन्छ। काठमाडौं उपत्यकाका १८ प्रहरी वृत्तमध्ये मालीगाउँ वृत्त मात्रै सुरक्षित रहेको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka