समाचार

इपिएस सम्झौता नवीकरण र नेपाली कामदारको कोटा वृद्धिबारे कोरियामा छलफल


Logo
Prawash Tv
१८ फागुन, २०८२
इपिएस सम्झौता नवीकरण र नेपाली कामदारको कोटा वृद्धिबारे कोरियामा छलफल

काठमाडौं स् नेपाल र दक्षिण कोरियाबीच इपिएस सम्झौता नवीकरण र नेपाली कामदारको कोटा वृद्धिका विषयमा छलफल भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा। दीपक काफ्ले नेतृत्वको ४ सदस्यीय प्रतिनिधिमण्डल र दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका उपमन्त्री लपिल हुन् सन् नेतृत्वको ५ सदस्यीय प्रतिनिधिमण्डलबीच जुङ्ग, सियोलमा शुक्रबार छलफल भएको सियोलस्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त बैठकमा पछिल्लो समय कोरियन भाषा तथा सीप परीक्षा उत्तीर्ण युवाहरूद्वारा विभिन्न माध्यमबाट व्यक्त हुँदै आएको चासो, रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारीको नवीकरण, इपिएसअन्तर्गत दक्षिण कोरिया सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको कोटामा वृद्धि, नेपाली श्रमिकहरूको कोरिया पुनः प्रवेश प्रणालीमा सुधार, हाल नेपाली श्रमिकहरूलाई उपलब्ध हुँदै आएको रोजगारीका क्षेत्रहरूको विस्तारबारे विस्तृतमा छलफल भएको छ ।

त्यसैगरी नेपाली श्रमिकहरूको भाषा तथा सीप विकासमा दुई देशबीच आपसी सहकार्य, नेपाली श्रमिकहरूको कार्यस्थल सुरक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षालगायतका कल्याणकारी कार्यहरूको विस्तार एवं सुदृढीकरण गर्ने विषय र कोरियाबाट फर्किएका नेपाली श्रमिकहरूको पुनःएकीकरणलगायतका विषयमा पनि छलफल भएको नेपाली दूतावासले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बैठकमा सचिव डा। काफ्लेले दुई देशबीचको श्रम सहकार्यको महत्वमाथि प्रकाश पार्नुका साथै कोरिया सरकारले नेपाली श्रमिकप्रति देखाएको विश्वास र नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याएको योगदानप्रति धन्यवाद व्यक्त गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

कोरियाको रोजगार तथा श्रम मन्त्रालयका उपमन्त्री पिल हुन् सन्ले बैठकमा नेपाली पक्षबाट प्रस्तुत भएका विषयहरूप्रति कोरिया सरकार सकारात्मक रहेको भन्दै रोजगार अनुमति प्रणालीसम्बन्धी द्विपक्षीय समझदारीको शीघ्र नवीकरण गर्न आफूहरू तयार रहेको, कोरियाको विकासमा नेपाली श्रमिकहरूको महत्वपूर्ण योगदान रहेको, कोरियामा कार्यरत नेपाली श्रमिकहरूको समग्र सुरक्षा प्रत्यभूतिमा कोरिया सरकार प्रतिबद्ध रहेको र छलफलका क्रममा प्रस्तुत भएका केही विषयवस्तुहरूमा थप छलफल गर्नुपर्ने धारणा राखेका छन् ।

कोरियामा रोजगार व्यवस्थापन सम्बन्धमा पछिल्लो समय नेपालमा विकसित घटनाक्रमका बारेमा आफूहरू जानकार रहेको र सो सम्बन्धमा नेपाल सरकारले खेलेको सकारात्मक भूमिकाप्रति कोरियाले धन्यवाद व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka