साउदीको एमएकजी कम्पनीमा कार्यरत कामदारहरूलाई दूतावासको आग्रह
साउदी अरेबियास्थित एमएकजी कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूले लिक्विडेसन प्रक्रियामार्फत पाउन बाँकी सेवा–सुविधा प्राप्त गर्ने प्रक्रिया अघि बढेको छ।
कम्पनीको संरक्षकले विभिन्न माध्यममार्फत सूचना जारी गरी बाँकी रकम वितरण गरिरहेको जानकारी साउदी अरबस्थित नेपाली दूतावासले दिएको छ। रकम प्राप्त गर्ने नेपाली श्रमिकहरूको नामावली संरक्षकमार्फत दूतावासले प्राप्त गरी सार्वजनिक गरिएको दूतावासले जनाएको छ।
दूतावासले सम्बन्धित श्रमिकहरूलाई आफ्नो नाम सूचीमा रहेको/नरहेको र रकम प्राप्त भएको/नभएको पुष्टि गर्न आग्रह गरेको छ। साथै, रकम पाउने योग्य सूचीमा नाम परे पनि भुक्तानी नपाएका श्रमिकहरूले तुरुन्तै आवश्यक विवरण पठाउनुपर्ने दूतावासले जनाएको छ।
श्रमिकहरूले संरक्षकका वकिल वा नेपाली राजदूतावास, रियादको मोबाइल नम्बरमा सम्पर्क गरी विवरण पठाउन सक्ने व्यवस्था गरिएको छ।
पठाउनुपर्ने विवरणमा नाम, कम्पनी आइडी नम्बर, अकामा नम्बर, मोबाइल नम्बर तथा रकम ट्रान्सफर हुने बैंकले जारी गरेको आइबान प्रमाणपत्र समावेश गर्नुपर्नेछ। यी सम्पूर्ण विवरण ह्वाट्सएपमार्फत पठाउन सकिने दूतावासले स्पष्ट पारेको छ।