गेमसम्बन्धी एप्स तुरुन्तै हटाउन नेपाली श्रमिकलाई दूतावासको आग्रह!!
क्वालालम्पुर, मलेसिया – मलेसियास्थित नेपाली दूतावासले मोबाइलमार्फत अनलाइन खेलिने गेम (जुवा) बाट धेरै नेपाली कामदार ठगीमा परेको भन्दै तुरुन्तै यी एप्स हटाउन नेपाली श्रमिकहरूलाई आग्रह गरेको छ।
मलेसियामा टोटो म्यागनमलगायतका अनलाइन गेमहरू मार्फत ठगी हुने घटना बढेको छ। दूतावासका अनुसार मोबाइलमा टोटो म्यागनम डाउनलोड गरेर राखेमा प्रहरीले कारबाहीको दायरामा ल्याउन सक्छ। कतिपय नेपाली यस एप्स प्रयोगका कारण जेल सजायमा परेका उदाहरण पनि रहेका छन्।
टोटो म्यागनममा खरिदकर्ताले १ देखि ४९ सम्मका कम्तीमा ६ अंक छानेर टिकट किन्ने र कोरिएका ६ अंक तथा थप एउटा अंक पाउने सर्तमा नगद पुरस्कार दिने गरी ठगी हुने बताइएको छ। मलेसियामा म्याग्नम ४डी, टोटो ४डी, मलेसिया टोटो ६डी, टोटो स्विप ४डी जस्ता एप्स ठगीका लागि परिचित छन्।
दूतावासले नयाँ कामदारहरू लोट्टो र क्यासिनो जस्ता अनलाइन जुवामा नपर्ने र आफ्नो बैंक खाता तथा पासवर्डको जानकारी अरूसँग नबाँड्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।