वैदेशिक रोजगार व्यवसायी संघसमेतको सहयोगमा गौशाला प्रहरी भवन निर्माण
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघसहितका विभिन्न सामाजिक तथा व्यावसायिक संस्थाहरूको सहयोगमा पुनर्निर्मित प्रहरी वृत्त गौशालाका भवनहरूको अनावरण तथा हस्तान्तरण गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाको प्रमुख आतिथ्यतामा बुधबार बिहान पुनर्निर्माण सम्पन्न संरचनाहरूको औपचारिक उद्घाटन गरियो।
समारोहलाई सम्बोधन गर्दै एसएसपी थापाले भदौ २४ गतेको विपद्पछिको कठिन परिस्थितिमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघलगायतका संस्थाहरूले समाजसेवी भावना र जिम्मेवारीबोधका साथ प्रहरी संरचना पुनर्निर्माणमा महत्वपूर्ण योगदान दिएको बताएका छन्। उनले समाजका विभिन्न क्षेत्रबाट प्राप्त भएको सहकार्यले प्रहरीलाई अझ निष्पक्ष र प्रभावकारी जनसेवामा प्रेरित गरेको उल्लेख गरे।
थापाका अनुसार, भदौ २४ को क्षतिपछि संघको टोलीले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई भेटेर सहयोगको इच्छा व्यक्त गरेपछि अन्य सामाजिक तथा व्यावसायिक क्षेत्रबाट पनि सहयोग जुट्दै गए। त्यहाँबाट प्रेरित सहकार्यकै आधारमा उपत्यकाका क्षतिग्रस्त १२९ प्रहरी कार्यालयमध्ये गौशाला, बालाजु र जनसेवा बाहेक अधिकांश कार्यालय पुनर्निर्माण सम्पन्न भएको उनको भनाइ थियो। उनले सहयोगी संस्थाहरू प्रती आभार व्यक्त गरे।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले भदौ २४ पछि सुरक्षामा शून्यता छाएको महसुस भएको बताउँदै यस्तै कठिन घडीमा समाज र सुरक्षासंस्थाका लागि कर्तव्यबोधसाथ व्यवसायीहरूले हातेमालो गरेको बताए। उनले प्रहरी वृत्त गौशालाको मुख्य भवन पुनर्निर्माण सकेसम्म छिटो पूरा गर्ने संघको प्रतिबद्धता दोहोर्याए। संघले अहिले अपराध अनुसन्धान कक्ष र हिरासत कक्ष निर्माण गरिसकेको छ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडाअध्यक्षहरू विमल होडा (वडा ७), आशामान संगत (वडा ८) र रामजी भण्डारी (वडा ९) साथै पशुपति गौशाला धर्मशाला, सामुदायिक प्रहरी सेवा केन्द्र, डियर वाक ग्रुप, स्मार्ट पार्टी प्यालेस, अनुपम फुडल्यान्डलगायत संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
वडा नं. ८ का अध्यक्ष संगतसहितका अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए। भवन पुनर्निर्माणमा योगदान गरेका सहयोगीहरूलाई कार्यक्रममार्फत प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो।
प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम प्रहरी निरीक्षक राजाराम खतिवडाले सञ्चालन गरेका थिए।