स्वास्थ्य परीक्षण शुल्क वृद्धिप्रति व्यवसायीको विरोध
वैदेशिक रोजगार व्यवसायीहरूले स्वास्थ्य परीक्षणको नाममा अस्वभाविक शुल्क वृद्धि भएको भन्दै कामदारको स्वास्थ्य परीक्षण ५ हजार रुपैयाँमा गर्न लागिएको बताएका छन्। दुई हप्ताअघि नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँबाट ९ हजार ५ सय रुपैयाँसम्म बढाएका थिए। तर, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र अन्य संस्थाहरूले हालको शुल्क कायम राखी पुरानो शुल्कमा स्वास्थ्य परीक्षण गर्न माग गरेका छन्।
महासंघले संघलाई समानान्तर हैसियतको गैरसरकारी संस्था भएको भन्दै अन्य संस्थाका काममा हस्तक्षेप गर्न नहुने बताए र बढेको शुल्क कार्यान्वयन हुने जानकारी दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पनि थप परीक्षण आवश्यक परेकाले शुल्क बढेको बताएका छन्।
वैदेशिक रोजगार व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष तथा संघका निवर्तमान प्रथम उपाध्यक्ष डिकबहादुर खत्री कुमारका अनुसार, सरकार र स्वास्थ्य व्यवसायीको अडानपछि करिब ३ सय व्यवसायीको सहमतिमा वैदेशिक रोजगार पारदर्शी र राहतपूर्ण स्वास्थ्य संस्था खोली ५ हजार रुपैयाँमा स्वास्थ्य परीक्षण गर्ने योजना अगाडि बढाइएको छ। उनले भने, ‘वैदेशिक रोजगार व्यवसायीहरूले करोडौं लगानी गरेर विदेश र रोजगारदाताकोमा प्रत्यक्ष उपस्थिति जनाउँदै प्रवद्र्धन गरेको श्रम बजारको महत्वलाई अन्य पक्षले अवहेलना गरेको अनुभव भयो। यसलाई मध्यनजर गर्दै, नेपाली श्रमिकको स्वास्थ्य सुरक्षालाई प्रभावकारी, पारदर्शी र श्रमिकमैत्री बनाउन नयाँ स्वास्थ्य परीक्षण संस्था खोल्ने तयारी गरेका छौं।’
खत्रीका अनुसार, ‘स्वास्थ्य जाँचमा पारदर्शिता, रोजगारी यात्रामा सुरक्षा’ भन्ने नारासहित अघि बढाइएको योजनाले श्रमिकलाई पूर्ण राहत दिनेछ। यस स्वास्थ्य संस्थाले श्रम तथा स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गर्दै जवाफदेही सेवा प्रदान गर्नेछ। ५ हजार रुपैयाँ शुल्कमा मानसिक स्वास्थ्य मूल्यांकन, काउन्सिलिङ र देशगत मौसमअनुसारको तीन घण्टे स्वास्थ्य जागरूकता तालिम निःशुल्क प्रदान गरिनेछ।
संस्थाले स्वास्थ्य परीक्षणमा अनुत्तीर्ण भएका श्रमिकलाई उनीहरूले तिरेको शुल्कको केही भाग घरसम्मको यातायात खर्चमा दिने र सम्मानपूर्वक फर्काउने पनि योजना बनाएको छ। साथै, स्वास्थ्य परीक्षण असफल भएमा वैदेशिक रोजगार ऐन, दफा ७२(२) अनुसार क्षतिपूर्ति पारदर्शी र छिटो दिने व्यवस्था गरिनेछ।
संस्थाले विशेषज्ञ चिकित्सकको समूह बनाएर गन्तव्य मुलुकका स्वास्थ्य परीक्षण गर्ने उच्चस्तरीय स्वास्थ्य प्राविधिक टोलीसँग प्रत्यक्ष समन्वय गर्नेछ। यसबाट वैदेशिक रोजगारका लागि आवश्यक स्वास्थ्य परीक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुसार एकीकृत र अद्यावधिक हुनेछ। खत्रीले भने, परीक्षणदेखि मनोसामाजिक सुदृढीकरणसम्म सम्पूर्ण प्रक्रिया श्रमिकमैत्री, पारदर्शी र न्यायपूर्ण बनाइने छ।
सरकारले हाल वैदेशिक रोजगारका लागि १७१ स्वास्थ्य संस्था मापदण्डअनुसार सूचीकरण गरेको छ। यसमा मलेसिया जाने कामदारका लागि ३६, साउदी अरबका लागि १९, कतारका लागि कतार भिसा सेन्टर, इजरायलका लागि ४, कोरिया ३ र जापानका लागि ८ मेडिकल सेन्टरहरूले कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका छन्।
गत १० वर्षमा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क दोब्बर भएको छ। २०७१ माघमा पुरुषको स्वास्थ्य परीक्षण २९४० र महिलाको ३१०० रुपैयाँ थियो भने २०७६ मा गाम्का अन्तर्गत मेडिकलमा ६४००, मलेसियाका लागि ६५०० र अन्य मुलुकका लागि ४४०० रुपैयाँ कायम गरिएको थियो। तर, विदेशमा स्वास्थ्य परीक्षणमा असफल भएका कामदारको क्षतिपूर्ति कसले तिर्ने भन्ने विषयमा वैदेशिक रोजगार व्यवसायी र मेडिकल व्यवसायीबीच मतभेद छ।