छिनछिनमा आउने मिसाइलले त्रसित छन्
कतारमा इरानले प्रहार गरेका क्षेप्यास्त्रहरूलाई निस्तेज पार्ने क्रममा खसेका टुक्राका कारण त्यहाँ रहेका नेपाली श्रमिकहरू त्रसित भएका छन्। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै कतार सरकारले सर्वसाधारणलाई बाहिर ननिस्कन निर्देशन दिएको छ भने धेरै काम गर्ने स्थानहरू अस्थायी रूपमा बन्द गरिएका छन्।
काठमाडौँ — इलामकी रेणु कार्की आइतबार बिहान करिब ७:३० बजे कतारको वक्रा क्षेत्रमा रहेको पार्कमा योग गर्न गएकी थिइन्। सोही समयमा इरानले प्रहार गरेको क्षेप्यास्त्रलाई कतारले आकाशमै निस्तेज पारेको थियो। ठूलो आवाज सुनेपछि आफू निकै डराएको र हतारिँदै कोठातर्फ फर्किएको उनले बताइन्।
शनिबारदेखि नै त्रासको अवस्था रहेको भन्दै उनले युद्धको अवस्था कता पुग्छ भन्ने चिन्ता लागेको बताइन्। सुरक्षाका कारण अहिले बाहिर ननिस्केर कोठामै बसेको उनको भनाइ छ।
निस्तेज पारिएका क्षेप्यास्त्रका टुक्रा कहाँ खस्छन् भन्ने निश्चित नहुँदा जोखिम बढेको छ। शनिबार एउटा टुक्रा हजारौं श्रमिक बस्ने उकिरस्थित अर्जेन्टिना श्रमिक आवासमा खसेको थियो। उक्त घटनामा मानवीय क्षति भने भएको छैन।
त्यस्तै आइतबार बिहान सनैया–१० क्षेत्रको एक आवास नजिक पनि अर्को टुक्रा खस्दा गाडीमा विस्फोट भएर आगलागी भएको बताइएको छ। त्यहाँ कार्यरत शिवकुमार सुनारका अनुसार बिहान काममा जाने तयारी गर्दै गर्दा आकाशमा ठूलो आवाज आएको र केहीबेरमै नजिकैको आवास क्षेत्रमा आगलागी भएको थियो। त्यसपछि श्रमिकहरू काममा नगई आफ्नै आवासमा बसेका छन्।
कतार सरकारले मोबाइल सन्देशमार्फत सावधानी अपनाउन र अत्यावश्यक बाहेक बाहिर ननिस्कन आग्रह गरिरहेको छ। हालसम्म ठूलो मानवीय क्षति नभए पनि कतारमा रहेका करिब ३ लाख ५७ हजार नेपाली श्रमिकहरू सतर्कताका साथ बसिरहेका छन्।