इजरायली सेनाकाे आक्रमणमा परी गाजामा २१ जना प्यालेस्टाइनीको ज्यान गयाे
काठमाडौँ । गाजाको नागरिक रक्षा विभागका प्रवक्ताका अनुसार गाजा सहर र दक्षिणी गाजाको खान युनिस क्षेत्रमा बुधबारदेखि इजरायली सेनाले भीषण सैन्य आक्रमण सुरु गरेको छ।
खान युनिसको पश्चिममा पर्ने अल–मवासी क्षेत्रमा विस्थापितहरू बसिरहेको पालमा इजरायली ड्रोन आक्रमण हुँदा दुई महिला र एक प्यारामेडिकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। त्यसैगरी गाजा सहरको पूर्वी भागमा पर्ने जैतुन र तुफाह क्षेत्र आसपास गरिएको तोपबारीमा तीन बालबालिका र पाँच महिलासहित कम्तीमा १४ जनाको ज्यान गएको छ। सोही आक्रमणमा धेरै मानिस घाइते भएका छन्।
घाइतेमध्ये केहीलाई उपचारका लागि अल–शिफा मेडिकल कम्प्लेक्स लगिएको जनाइएको छ। यसअघि खान युनिसको दक्षिणी किजान रशवान क्षेत्रमा भएको आक्रमणमा एक बालकसहित चार जनाको मृत्यु भएको थियो। स्थानीय प्रत्यक्षदर्शी मोहम्मद हमादाले आकस्मिक आक्रमणको निन्दा गर्दै सात दिनको नवजात शिशुको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
यसैबीच हमास ले इजरायली सैन्य कारबाहीलाई युद्धविराम सम्झौता र विद्यमान समझदारीको गम्भीर उल्लंघन भनेको छ। गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार सन् २०२५ अक्टोबर १० मा युद्धविराम लागू भएयता इजरायल का आक्रमणमा परी ५५६ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने १,५०० भन्दा बढी घाइते भएका छन्।