समाचार

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु


Logo
Prawash Tv
१४ भदौ, २०८३
काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित काठमाडौं–मुग्लिङ सडकखण्डमा यातायात सञ्चालन सहज बनेको छ। धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकबाहेक अधिकांश स्थानमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीदेखि गलौदीसम्म विभिन्न स्थानमा ठूलो मात्रामा लेदो, माटो र ढुंगा थुप्रिएपछि सडक अवरुद्ध भएको थियो। सडक खुलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सडक विभागका टोलीले एक्स्काभेटरलगायतका उपकरण प्रयोग गरी सफाइ अभियान सञ्चालन गरेका थिए।

सडक विभागका अनुसार बैरेनीदेखि गलौदीसम्म करिब १३ किलोमिटर सडक क्षेत्रमा बाढीले लेदो थुपारेको थियो। ठूलो संख्यामा उपकरण परिचालन गरी लेदो हटाउने काम अघि बढाइएपछि शुक्रबार साँझदेखि सडकमा यातायात क्रमशः सञ्चालनमा ल्याइएको हो।

हाल बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकमा भने एकतर्फी यातायात सञ्चालन भइरहेको छ। सो क्षेत्रमा बाँकी रहेको लेदो तथा माटो हटाउने काम जारी रहेकाले पूर्ण रूपमा दुईतर्फी यातायात सञ्चालनमा आउन केही समय लाग्ने जनाइएको छ।

बाढीका कारण गल्छी, बैरेनी, जहरेखेत, बाँगेमोड र गलौदीलगायत पृथ्वी राजमार्गका विभिन्न स्थानमा यातायात प्रभावित भएको थियो। सडक अवरुद्ध हुँदा कतिपय स्थानमा सवारीसाधन लामो समयसम्म रोकिएका थिए। अत्यावश्यक सवारी, एम्बुलेन्स तथा उद्धारका सवारीसाधनलाई भने प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइएको थियो।

सडक सञ्चालनमा आए पनि सडकमा बाँकी रहेको लेदो, क्षतिग्रस्त संरचना र सवारीसाधनको चापका कारण यात्रु तथा चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। विशेषगरी बैरेनी क्षेत्रमा एकतर्फी यातायात सञ्चालन भइरहेकाले गति नियन्त्रणमा राख्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमा दैनिक उपभोग्य वस्तुको आपूर्ति, यात्रु आवागमन तथा धादिङ हुँदै पश्चिमतर्फ जाने यातायातमा समेत ठूलो असर परेको थियो। राजधानी काठमाडौंलाई देशका विभिन्न पश्चिमी जिल्लासँग जोड्ने प्रमुख मार्ग भएकाले पृथ्वी राजमार्गलाई राजधानीको ‘लाइफलाइन’का रूपमा समेत लिइन्छ।

यद्यपि, भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। सडक विभागका अनुसार रसुवागढीदेखि मलेखुसम्म करिब ४० किलोमिटर सडकमा क्षति पुगेको छ भने ४१ वटा पुल प्रभावित भएका छन्। त्यसैले काठमाडौं–मुग्लिङ सडक सञ्चालनमा आए पनि बाढी प्रभावित जिल्लाका अन्य सडक तथा पुलको पुनःस्थापना अझै चुनौतीपूर्ण देखिएको छ।



सम्बन्धित खबर

सम्पर्क

Gopikrishna, Chabahil-Kathmandu

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka