समाचार

पुसमा म्यानपावरमार्फत १० देशमा मात्र नेपाली कामदार, संख्या घट्दो


Logo
Prawash Tv
०७ माघ, २०८२
पुसमा म्यानपावरमार्फत १० देशमा मात्र नेपाली कामदार, संख्या घट्दो

काठमाडौं : पुस महिनामा म्यानपावर कम्पनीहरूले केवल १० वटा मुलुकमा मात्र नेपाली कामदार पठाउन सफल भएका छन्। विदेशस्थित नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण नगरेका कारण डिमाण्ड भएका धेरै मुलुकमा पनि कामदार पठाउन नसकिएको वैदेशिक रोजगार व्यवसायीहरूको भनाइ छ।

पुस महिनामा कुल १ सय ५ देशमा नेपाली कामदार वैदेशिक रोजगारीका लागि गएका भए पनि म्यानपावर कम्पनीमार्फत भने १० देशमा मात्र कामदार पठाउन सकिएको हो। सो अवधिमा म्यानपावर कम्पनीमार्फत २१ हजार ७ सय २३ जना नेपाली विदेशिएका छन्। गत वर्षको सोही महिनामा यो संख्या २९ हजार ३ सय १६ थियो।

यस वर्ष पुस महिनामा नयाँ व्यक्तिगत श्रम स्वीकृतिमार्फत ९ हजार २ सय ५३ जनाले विदेश जाने अनुमति लिएका छन् भने श्रम स्वीकृति नवीकरणमार्फत ३० हजार ८ सय ९ जनाको प्रक्रिया सम्पन्न भएको छ। यस्तै, सरकार–सरकारबीचको सम्झौताअन्तर्गत दक्षिण कोरिया, बेलायत र इजरायलमा ७ सय २१ जनाले श्रम स्वीकृति प्राप्त गरेका छन्। वैधानिकीकरण प्रक्रियाबाट ५३ जना विदेशिएका छन्।

म्यानपावर कम्पनीमार्फत पुस महिनामा सबैभन्दा धेरै कामदार साउदी अरेबियामा ७ हजार १ सय ७८ जना गएका छन्। त्यसपछि कतारमा ३ हजार ८ सय ४, मलेसियामा ३ हजार ५ सय ७७, कुवेतमा २ हजार ३ सय ६८, युएईमा १ हजार ७ सय ६५, ओमानमा १ हजार १ सय २२, बहराइनमा ६ सय ६२, साइप्रसमा ३ सय ९८, मरिससमा ३ सय ६०, जोर्डनमा २ सय ८०, जापानमा २ सय ६ र माल्दिभ्समा ३ जना गएका छन्।

गत वर्ष पुस महिनामा २१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि गएको युएईमा यस वर्ष भने ९ हजार ५ सय १७ जना मात्र गएका छन्। तीमध्ये म्यानपावर कम्पनीमार्फत १ हजार ७ सय ६५ जना मात्र गएको तथ्यांक छ।

गत वर्ष पुसमा युएईमा म्यानपावर कम्पनीमार्फत १४ हजार १ सय ७८ जना नेपाली गएका थिए। यस वर्ष युएईमा जाने कामदारको संख्या घट्नुको प्रमुख कारण युएईस्थित नेपाली दूतावासले प्रहरी रिपोर्ट प्रमाणीकरण अनिवार्य गरेको नीतिलाई वैदेशिक रोजगार व्यवसायीहरूले औंल्याएका छन्।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka