एनआरएनए इजरायलद्वारा बाढीपीडितलाई ३ लाख सहयोग
काठमाडौँ / इजरायल — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलले नेपालका विभिन्न जिल्लामा हालै आएको भीषण बाढी तथा पहिरोका कारण ज्यान गुमाउनु भएका नेपाली दाजुभाइ, दिदीबहिनी तथा बालबालिकाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ।
एनआरएनए एनसीसी इजरायलका पदाधिकारीहरूले एक संयुक्त वक्तव्य जारी गर्दै रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्लामा भएको यस दुखद घटनाले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको बताएका छन्।
संस्थाका पदाधिकारीका अनुसार, “यो विपद् केवल प्रभावित क्षेत्रका लागि मात्र नभई सम्पूर्ण नेपालीका लागि अत्यन्त पीडादायी क्षण हो। हामी दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।”
उनीहरूले मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई यो अपूरणीय क्षति सहन सक्ने शक्ति, धैर्य र साहस प्राप्त होस् भन्ने कामना पनि गरेका छन्।
यसैबीच, एनआरएनए एनसीसी इजरायलले पहिलो चरणमा रु. ३ लाख राहत सहयोग रकम गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय कार्यालयमार्फत हस्तान्तरण गरिसकेको जानकारी दिएको छ।
पदाधिकारीहरूले भनेका छन्, “सानो भए पनि हाम्रो यो सहयोगले पीडित परिवारको दुःखमा केही राहत पुग्नेछ भन्ने विश्वास लिएका छौँ। प्रवासमा रहेका नेपालीहरू सधैं मातृभूमिको दुःख–सुखमा साथमा छन्।”
संस्थाले विपद्को समयमा एकजुट भएर पीडित परिवारलाई सहयोग गर्न सबै नेपाली समुदायलाई आह्वान समेत गरेको छ।