एनआरएनएद्वारा बाढी–डुबान पीडित राहतका लागि प्रधानमन्त्री कोषमा रु. १ करोड हस्तान्तरण
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका विभिन्न जिल्लामा हालै आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड हस्तान्तरण गरेको छ।
संघका अध्यक्ष डा. हेम राज शर्माको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो। उक्त सहयोग एनआरएनए केन्द्रीय समिति तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूबाट संकलित रकममध्ये पहिलो चरणको रहेको संघले जनाएको छ।
परराष्ट्रमन्त्री खनालले विपद् व्यवस्थापन तथा पुनर्स्थापनाका लागि नेपाल सरकार एक्लैले काम गर्न नसक्ने भएकाले एनआरएनएसँग सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले एनआरएनएले गरेको राहत तथा सहयोग प्रयासप्रति धन्यवाद व्यक्त गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणका सबै चरणमा सहकार्य गरिने स्पष्ट पार्नुभयो।
उहाँले हालको विपद् अत्यन्त ठूलो प्रकृतिको भएको उल्लेख गर्दै रसुवा र नुवाकोटसहित विभिन्न क्षेत्रमा ठूलो जनधन तथा पूर्वाधार क्षति भएको जानकारी दिनुभयो। साथै, एकद्वार प्रणालीअनुसार समन्वय गर्दै राहत वितरण गर्न सकिने र त्यसको विवरण सरकारलाई उपलब्ध गराउनुपर्ने पनि उहाँले बताउनुभयो।
एनआरएनए अध्यक्ष डा. हेम राज शर्माले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न संघ प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले संघले कुल रु. ५ करोड राहत तथा मानवीय सहयोग गर्ने घोषणा गरिसकेको जानकारी दिँदै पहिलो चरणमा रु. १ करोड प्रधानमन्त्री कोषमा हस्तान्तरण गरिएको बताउनुभयो।
अध्यक्ष शर्माले आगामी दिनमा पनि संकलित सहयोग रकम क्रमशः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने र पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यमा सरकारसँग सहकार्य गरिने स्पष्ट पार्नुभयो। साथै, राहत तथा पुनर्निर्माणका लागि विदेशमा रहेका नेपालीहरूको सीप, अनुभव र दक्ष जनशक्ति प्रयोग गर्न संघ तयार रहेको उहाँको भनाइ थियो।
एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले पनि विपद्को समयमा गैरआवासीय नेपालीहरू मातृभूमिसँगै रहेको बताउँदै राहत, स्वास्थ्य सेवा, औषधि वितरण तथा पुनर्निर्माणका कार्यमा एनआरएनए सक्रिय रूपमा सहभागी हुन तयार रहेको उल्लेख गर्नुभयो।
संघका पदाधिकारी तथा अभियन्ताहरूले विपद्को यस कठिन समयमा सरकारसँग समन्वय गर्दै राहत तथा पुनर्निर्माणका कार्यलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।