राहत बाँड्दै एनआरएनए
भोटेकोशी बाढीपीडितका लागि एनआरएनएले राहत वितरण सुरु गर्दै
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि राहत वितरण सुरु गर्ने भएको छ।
संघका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा बिहीबारदेखि राहत वितरण सुरु गर्न लागिएको हो। पहिलो चरणमा नुवाकोटका बाढी प्रभावित ५ सय परिवारलाई टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका आवश्यक सामग्री उपलब्ध गराइने संघले जनाएको छ।
राहत सामग्री वितरणका लागि संघले स्थानीय तहसँग समन्वय गर्नेछ। बाढीबाट प्रभावित परिवारको आवश्यकता पहिचान गरी सोहीअनुसार राहत पुर्याउने तयारी गरिएको जनाइएको छ।
यसअघि बुधबार बसेको संघको आकस्मिक बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। बैठकले प्रभावित क्षेत्रमा चिकित्सकहरूको टोलीसमेत पठाउने निर्णय गरेको थियो।
त्यसैगरी, एनआरएनएले विश्वभर रहेका आफ्ना राष्ट्रिय समन्वय परिषद्लाई पनि उद्धार तथा राहत कार्यमा परिचालन गर्ने निर्णय गरेको छ। संघले बाढी प्रभावित क्षेत्रमा आवश्यक सहयोगलाई थप प्रभावकारी बनाउन विभिन्न निकायसँग सहकार्य गर्ने जनाएको छ।